बनेपा – काठमाडौं उपत्यकाका कोल्ड स्टोरहरुले ब्रोइलर कुखुराको खरिद मूल्यमा प्रतिकिलो १० रुपैयाँ घटाएका छन्। उनीहरुले शुक्रबारमात्रै १० रुपैयाँ घटाएका थिए। अब किसानले कोल्ड स्टोरबाट जिउँदो ब्रोइलरको एक सय ८० रुपैयाँ मूल्य पाउने छन्।
‘उपत्यकाबाहिरका ब्रोइलर तीन किलोसम्मका आउन थाल्यो । त्यतिमात्रै नभई यहाँ तयार ब्रोइलरभन्दा किलोमा ३० रुपैयाँसम्म घटी मोलमा बाहिरको कुखुरा आउन थालेपछि कुन चाहिँ कोल्ड स्टोर बढी मूल्यको किन्न खोज्छ र ?, राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले भने।
विगतमा संघले ब्रोइलरको खरिद मूल्य तोक्दा किसानले कार्टेलिङ गरेको आरोप लगाएपछि कुखुराको मासु खपतका आधारमा बजारले मूल्य निर्धारण गर्दैै आएको उनको भनाइ छ । ‘यसपटक किसानले धेरै भाउ पाइने र कुखुरा जाम नहुने अनुमानले महँगो चल्ला पालेका थिए । तर, दसैंजस्तो चाडमा समेत पोहोर परारको दाँजोमा ७५ प्रतिशत मासुको खपत घट्यो । खपत नै नभएपछि भाउ घट्नु स्वाभाविकै हो,’ बिसीको तर्क छ।
यस वर्ष असारदेखि असोजको पहिलो सातासम्म किसानले तयारी ब्रोइलर किलोको दुई सयदेखि दुई सय ३० रुपैयाँसम्म पाएका थिए।
असोजको पहिलो सातादेखि पटक–पटक गरी कुखुरा किलोमा ५० रुपैयाँसम्म भाउ घटिसकेको छ । ‘यसरी निरन्तर भाउ घट्दै जाने अवस्था रहेका किसानहरु फेरि घाटामा जानेछन् । कुखुरा पाल्ने किसान नै नटिके यसमा आधारित दाना, चल्ला, औषधि र कोल्ड स्टोरहरु पनि टिक्दैनन् । कुखुराको भाउ निर्धारणका लागि निश्चित मापदण्ड नहुँदासम्म हामी किसान मर्कामै पर्ने भयौं,’ नेपाल ब्रोइलर कुखुरापालन तथा उत्पादक संघका सचिव सन्दीप पोखरेलले भने।
प्रकाशित: १३ कार्तिक २०७५ ०५:११ मंगलबार