अर्थ

राजनीतिसँगै कृषिमा अब्बल

कुरिलो गोडमेल गर्दै प्रेमराज भट्ट । तस्बिरः पुष्पराज जोशी/नागरिक

कैलाली - कुनै समय विद्यार्थी राजनीतिमा जति सक्रिय थिए कैलाली अत्तरियाका प्रेमराज भट्ट उत्तिकै सक्रिय अहिले कृषि कर्ममा छन्। अहिले उनले राजनीतिक सँगसँगै कृषि कर्ममा अब्बल किसानको पहिचान बनाइसकेका छन्। 

विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला आर्थिक अवस्थाले गाँज्न थालेपछि उनले जुक्ति निकाले कृषि कर्म गर्ने। दिदीको घरमा बसेर अध्ययन गर्दै गर्दा उनले एक हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका हुन्। ‘एक हजार रुपैयाँको च्याउको बीउ किनेर कृषि कर्म अगाडि बढाएँ,’ उनले भने,‘६ वर्षमै कृषिबाटै करोड बढीको कारोबार गर्न थालेको छु।’ उनले कृषि व्यवसायबाटै ६ वर्षमै कुखुराका दाना बिक्री गर्ने थोक पसल सञ्चालन गर्नुका साथै ६ बिघा जमिनमा कुरिलो खेती थालेका छन्। भट्टले २६ टनेलमा च्याउ खेती, ५० वटा बंगुर र ६ हजार कुखुरा पालन गरेका छन्। ‘कृषिमै हात हालेको छोटो समयमै सन्तोषजनक छु,’ उनले भने, ‘तरिका जाने कृषि कर्ममा घाटाको व्यापारै नहुँदो रैछ।’ अत्तरियामा अध्ययन गर्दाको समयमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका बेला सधैँ पैसा अभावले सताउन थालेपछि उनले कृषि कर्म रोजे । आफूले धेरै समय विद्यार्थी राजनीतिमा बिताए पनि प्रतिफल नपाएपछि पहिले आत्मनिर्भरताको बाटो रोजेको उनले बताए । उनले भने,‘मैले धेरै समय विद्यार्थी राजनीतिमा बिताएँ, बुझ्दै जाँदा राजनीति भन्दा पहिला आत्मनिर्भर हुने बाटो खोजे अनि कृषि पेशलाई अँगाले।’ 

विद्यार्थी राजनीतिमा पनि उनको राम्रो छबी छ। ‘अत्तरिया क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समस्या पर्दा मलाई नै गुहार्छन्,’ उनले भने,‘आफूले सक्दो सहयोग गर्दै आएको छु।’ विद्यार्थी राजनीतिसँगै प्रेमराजले अब्बल किसानको पहिचान बनाएको विद्यार्थी नेता भेष बम बताउँछन्। उनले भने, ‘राजनीतिसँगसँगै प्रेमराजले ग्रामीण भेगमा नौलो कृषि प्रणाली रोज्न थालेको छ ।’ प्रेमराजले जडीबुटीलाई टेवा पुगोस् भनेरै कुरिलो खेती सुरु गरेका छन्। 

‘कुरिलोको जरा महँगोमा बिक्री हुने भएकाले अहिले परिक्षणका लागि पनि ६ बिघा जमिनमा खेती गरेको छु,’ उनले भने,‘कुरिलो खेतीले राम्रो फसल दिए अर्कौ पटक थप्दै लैजाने सोचमा छु ।’ चिम्ट्याइलो माटो र पानी नजम्ने जमिनमा कैलालीमा कुरिलो खेती राम्रो हुने उनले बताए। ‘यहाँको जमिन र हावा पानी कुरिलोका लागि उपयुक्त छ,’ उनले भने,‘त्यही भएर ६ बिघा जमिनमा यो खेती थालेको छु।’ 

जेटिए अध्ययन गरेका प्रेमराजले शिक्षा संकायमा स्नातकोत्तर गरेका छन् । ‘कृषिलाई निरन्तरता दिनकै लागि जेटिए पढेँ,’ उनले भने,‘पछि शिक्षा संकायमा स्नातक पनि गरेँ।’ जेटिए पढेका उनलाई जागिरका लागि तमामौ अवसर पनि आए, तर उनले जागिर भन्दा पनि आफ्नै व्यवसाय महत्वपूर्ण ठाने। ‘अरुकोमा गएर काम गरेबापत पाउने मासिक तलब भन्दा थोरै भए पनि आफ्नै गर्नुपर्छ भन्ने लाग्थ्यो त्यो बेला,’ उनले भने, ‘जागिरका तमाम अवसर छोडेर स्वरोजगारको निर्णय लिएको हुँ।’ 

च्याउ खेतीबाट व्यवसाय सुरु गरेको बताउँदै उनले भने,‘अहिले कृषि पेशाबाटै मासिक चार लाख रुपैयाँसम्म आम्दानी गर्छु।’ आफूले कृषि पेशालाई अाँगालेदेखि नै जीवन परिवर्तन भएको उनी बताउँछन्। जानेपछि कृषिमै पैसा फालाफाल रहेको उनी बताउँछन्। 

कृषि कर्मसँगै उनी कुखुरा पालक किसानका लागि समय समयमा विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आइरहेका छन्। ‘कुखुरा पालक किसान तालिमका लागि घरमै आउने गर्छन्,’ उनले भने,‘कहिले घरमा त कहिले किसानकै गाउँमा गएर समूह बनाइ तालिम दिने गरेको छु।’ उनी तालिमबापत पैसा भने लिदैनन् ।‘किसानलाई जानेको कुरा सिकाउँछु,’ उनले भने, ‘तर पैसा भने लिदैन।’ उनले कृषि कर्म थालेको ६ वर्षकै अवधिमा अत्तरियाको तेघरी र धनगढीमा दुई वटा पक्की घर बनाएका छन् भने दुई बिघा बढी जमिन जोडिसकेका छन् । ‘मेरो सम्पत्ति जोड्ने आधार भनेकै कृषि हो,’ उनले भने,‘कृषि पेशा अँगालेकै दिनदेखि मलाई फरक खालको ऊर्जा मिलेको आभाष भएको छ।’ 

सरकारले कृषिमा अनुदान दिएको बताउँदै आए पनि आफूले अहिलेसम्म एक पैसा अनुदान नपाएको उनको गुनासो छ। ‘हामीजस्ता वास्तविक किसानलाई सरकाले हेर्दैन,’ उनले भने,‘पहुँच र जिम्दार (जमिन भएका तर काम नगर्ने) किसानलाई भने अनुदान दिने गरेको छ।’ पहुँचका आधारमा मात्रै कृषिको अनुदान पाउने प्रावधानले आफूजस्ता वास्तविक किसान मारमा परेको उनको गुनासो छ।

प्रकाशित: १४ आश्विन २०७५ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App