अर्थ

७५ करोड पुनर्बिमा पुनर्बिमाबापत बिदेसिनबाट रोकियो

काठमाडौं - बर्सेनि अर्बौं रुपैयाँ पुनर्बिमाबापत बाहिर जाने पैसा पुनर्बिमा कम्पनी स्थापना भएपछि स्वदेशमै रोकिएको छ । गत आर्थिक वर्षमा ७५ करोड रुपैयाँ पुनर्बिमाबापत बाहिरिनबाट रोकिएको हो।

आर्थिक वर्ष २०७४/०७५ मा नेपाल पुनर्बिमा कम्पनीले ४ अर्ब रुपैयाँको व्यवसाय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आइतबार नागरिकलाई बताए । ‘पुनर्बिमा गरेबापत करिब ७५ करोड रुपैयाँ बाहिर जानबाट रोकिएको छ,’ उनले भने, ‘आगामी वर्ष अझै कम रकम रकम बाहिर जानेछ।’

पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षमा ७ अर्ब रुपैयाँको व्यवसाय गर्ने लक्ष्य लिएको भण्डारीले जानकारी दिए । ‘यसले थप बाहिर जाने रकम रोकिने छ,’ उनले भने, ‘एउटा बिमा कम्पनीले व्यक्तिगत रुपमा विदेशी कम्पनीसँग पुनर्बिमा गराउँदा ५–६ प्रतिशत कमिसन पाउँछन् भने नेपाल पुनर्बिमा कम्पनीसँग गर्दा १७ प्रतिशतसम्म कमिसन पाइन्छ ।’ विदेशी पुनर्बिमा कम्पनीले भन्दा स्वदेशीले बढी कमिसन दिएका कारण बढी रकम बाहिर जानबाट रोकिएको हो।

नेपालबाट बर्सेनि करिब ६ अर्ब रुपैयाँ हाराहारी पुनर्बिमाबापतको रकम विदेश जाने गरेको बिमा समितिको भनाइ छ । नेपाल पुनर्बिमा कम्पनीबाट पुनर्बिमा गर्दा अर्बौं रकम बाहिर जानबाट रोकिने भण्डारीको भनाइ छ।

सरकारले चालु आर्थिक वर्षदेखि २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले पनि आगामी दिनमा पुनर्बिमाबापत रकम बाहिर जानबाट रोकिने पुग्ने भण्डारीले बताए।

नेपाल पुनर्बिमा कम्पनीले २८ मुलुकका ५५ भन्दा बढी बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीसँग पुनर्बिमा व्यवसाय गरी पुनर्बिमा शुल्क प्राप्त गर्दै आएको जानकारी पनि भण्डारीले दिए।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आइतबार नेपाल पुनर्बिमा कम्पनीमा शतप्रतिशत पुनर्बिमा गरेको छ । यसअघि सूर्या लाइफ, गुराँस लाइफ, सानिमा लाइफ र राष्ट्रिय बिमा संस्थानले नेपाल पुनर्बिमा कम्पनीमा शतप्रतिशत पुनर्बिमा गरेका थिए।

पुनर्बिमाबापत बाहिरिने रकमको मात्रा घटाउन नेपाल पुनर्बिमा कम्पनीको हात महत्वपूर्णे छ । हाल नेपाल पुनर्बिमा कम्पनीले करिब ४ अर्ब रुपैयाँ पुनर्बिमामार्फत संकलन गरेको छ । यसले विदेशी मुद्रा बाहिर जानबाट रोकेको छ।

एलआइसी–नेपाल पुनर्बिमा कम्पनी सम्झौता
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आफ्नो सम्पूर्ण पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीमा गर्ने गरी सम्झौता गरेको छ । सम्झौतामा आइतबार कर्पोरेसनका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरे।

बिमा कम्पनीहरुले विदेशी पुनर्बिमा कम्पनीमा छुट्टाछुट्टै पुनर्बिमा गर्दा धेरै रकम बिदेसिन्छ तर नेपाल पुनर्बिमामार्फत जाँदा थोरै रकम बिदेसिन्छ । यसले गर्दा पुनर्बिमामार्फत हुने व्यापार घाटा कम हुने भण्डारीको भनाइ छ।

असोज ९ र १० गते बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
आगामी असोज ९ र १० गते बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विपद् जोखिम व्यवस्थापनलाई मुख्य अजेन्डा बनाएर उक्त सम्मेलन हुन लागेको हो।

नेपालमा दोस्रोपटक यस्तो सम्मेलन हुन लागेको आयोजकले जानकारी दिए । विकासशील राष्ट्रका बिमक र पुनर्बिमकको संगठन (एआइआरडिसी) ले आफ्नो २२औं सम्मेलन नेपालमा गर्ने भएको हो । नेपालमा यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो । १८ वर्षपछि नेपालले फेरि एआइआरडिसी सम्मेलनको नेतृत्व गर्ने अवसर पाएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने बताइएको छ।

सम्मेलनमा विदेशी बिमा कम्पनीहरूको सहभागिता रहनेछ । सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे छलफल हुने बिमा समितिको भनाइ छ।

सम्मेलनका लागि गठित आयोजक समितिको अध्यक्षमा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सहअध्यक्षमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह छन् । सम्मेलनमा सम्बन्धित देशको नियामक निकायका प्रतिनिधि, विदेशी बिमाविज्ञ र बिमा क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहनेछ । सम्मेलनमा करिब ५ सयको सहभागिता हुुनेछ । विदेशी मुलुकबाट झन्डै २ सयजनाले सम्मेलनमा भाग लिनेछन्।

प्रकाशित: १८ भाद्र २०७५ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App