वीरगन्ज - ‘डिजाइन’मा भएको प्राविधिक गडबडीका कारण पुरा क्षमतामा प्रयोग हुन नसकेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा सुधार गर्ने योजना अलपत्र परेको छ। तेस्रो मुलुकको व्यापारका लागि ‘इनल्यान्ड कन्टेनर डिपो (आइसिडी)’का रुपमा स्थापित सुक्खा बन्दरगाहभित्र रेल्वेलाइन निर्माणमा त्रुटी र गोदाम अपूरो छ । रेललाइन परिमार्जनका लागि विश्व बैंकले ऋण अनुदान दिन तीन वर्षअघि नै भने पनि काम अगाडि बढ्न सकेको छैन । त्यस्तै गोदाम निर्माणमा ढिलाइ भइरहेको छ।
सुक्खा बन्दरगाह ‘आइसिडी’को रेल्वे सञ्चालन प्रणालीलाई परिमार्जन गर्न विश्व बैंकले सन् २०१५ मा इन्टर नेपाल मोडेल यातायात विकास समितिलाई ऋण अनुदान दिने सहमति जनाएको थियो। बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले तत्परता देखाउँदै काम अगाडि बढाउन भनेका थिए। समितिले भने प्रक्रिया बढाउन नसकेर, रेललाइनमा सुधार गरी सुक्खा बन्दरगाहको क्षमता अभिवृद्धिको योजना अलपत्र छ । निर्माण कामको सुपरीवेक्षण गर्ने कन्सल्टेन्ट (परामर्शदाता) कम्पनीलाई अनुवन्धित गर्नका निम्ति प्रकाशित गरेको सूचनामा माग भएअनुसार योग्यता पुग्नेगरी आवेदन नआएपछि योजना अड्किएको समितिले जनाएको छ।
‘कन्सल्टटेन्ट माग गर्दा एउटा मात्र आवेदन आएको थियो, जसलाई विश्व बैंकले योग्यता नपुगेर अस्वीकृत गरिदियो, उसै पनि नेपालमा रेल्वेको काम जानेका कन्सल्टेन्ट छैनन्, ग्लोबल टेन्डरमा जानुपर्दा लागत बढ्ने भयो,’ समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले भने, ‘पहिले रेल्वे ट्रेकलाई स्थानान्तरण गर्ने कुरा थियो अब त्यसैलाई प्रयोगमा ल्याउने गरी बनाउने मोडेलमा जाने कुरा भएको छ, विश्व बैंकले पनि सहमति दिइसेकको अवस्था छ।’ अब ‘बलअस्ट लेस’ अर्थात रेल लिक भएको ठाउँ पक्की र सम्म बनाउने मोडेल तय गरिएको बस्नेतले बताए । भारतको सहयोगमा बनाइएको सुक्खा बन्दरगाहमा गरिने परिमार्जनको कामका लागि समेत सघाउन आफूहरुले भारतीय पक्षलाई आग्रह गरेको उनले बताए।
सुक्खा बन्दरगाहभित्र ६ वटा रेल्वेलाइन छन्। जसमध्ये तीनवटालाई सामान अनलोड र लोड गर्न प्रयोग गर्न सकिएको छैन । पूर्वतिरको खुल्ला प्लेटफर्मसँग जोडिएको १ नम्बर रेल्वे लाइनमा कन्टेनरवाहक टे«न खडा गरेर कन्टेनर लोड–अनलोड हुन्छ। गोदामसहितको प्लेटफर्मसँग जोडिएको ५ नम्बर रेल्वेलाइन ‘ब्याग कार्गो’मा आउने चिनी, मल, मकै, भटमास, सिमेन्टजस्ता बोराबन्द सामान अनलोड हुने गर्छ । ६ नम्बर रेल्वेलाइन पश्चिमपट्टीको खुला ठाउँमा भएकाले त्यसमा फलमका उद्योगका लागि आउने ‘बिलेट, एचआर क्वायल र एचआर सिट’ क्रेन लगाएर अनलोड गरिन्छ । २, ३ र ४ नम्बर रेल्वेलाइन कुनै प्लेटफर्मसँग जोडिएको छैन । यी तीनवटै लाइन रेल पार्किङ तथा सन्टिङ बाहेकमा उपयोग हुन पाएको छैन।
परिमार्जनपछि अहिलेसम्म लोड–अनलोडमा उपयोग हुन नसेकका लाइनहरु प्रयोगमा आउने छन्। यसले सुक्खा बन्दरगाहको क्षमता करिब ३० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। भारतीय रेल सञ्जालमार्फत समुद्री बन्दरगाहसँग जोडिएको मुलुकको एकमात्र सुक्खा बन्दरगाह २०६२ मा सञ्चालनमा आएदेखि अहिलेसम्म पूर्ण क्षमतामा प्रयोग हुन पाएको छैन । सुक्खा बन्दरगाहमा मालसामानको चाप भने बढ्दै गएको छ । सञ्चालनमा आएको वर्ष जम्मा एक सय ४० वटा ‘रेक’ (मालवाहक ट्रेन)का मालसामान आएको सुक्खा बन्दरगाहमा आर्थिक वर्ष ०७४÷७५ मा नौ सय १९ वटा ‘रेक’मा मालसामान आएको छ । एक रेकमा करिब अढाई हजार टन मालसामान अटाउने गरेको छ। यसरी वीरगन्ज सुक्खा बन्दरगाहले अहिले बर्सेनि २२ लाख ९७ हजार पाँच सय टन सामान ‘ह्यान्डिल’ गर्दैछ । एक दिनमा करिब अढाई रेक सामान यहाँ ‘ह्यान्डिल’ भइरहेको छ।
‘माल सामान आउने मात्र होइन रेकलाई खाली गर्ने, ओहोरदोहोर गराउने, पठाउने कन्टेनर राख्ने, कन्टेनरलाई गोदाममा खाली गर्ने वा खाली गराउन बाहिर पठाउन, खाली भएका कन्टेनर पुनः लोड गरेर फिर्ता पठाउने, बैग कार्गो सुरक्षित किसिमले राख्ने, फलाम लोड अनलोड गर्नेजस्ता काम यहाँ दैनिक रुपमा हुन्छ,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, ‘यस संरचनामा काम हुँदा केही समस्या छन्, सुधारपछि यसै संरचनाबाट सरल किसिमले र अझ बढी काम हुनेछ।’ भारतीय रेल्वे सुक्खा बन्दरगाहमा आएको रेलको चाँडै फिर्ता नहुने भन्दै औद्योगिक कच्चा पदार्थका रुपमा आउने फलाम सुक्खा बन्दरगाहमा ल्याउन ‘रेक’हरु उपलब्ध गराउन कम गरेको व्यापारीको भनाइ छ। तथ्यांकअनुसार पनि अघिल्लो वर्षभन्दा ‘३४ हजार ६७’ टन फलाम आयात आर्थिक वर्ष ०७४/७५ मा घटेको छ । अर्को नाकामा भने फलाम आयात बढेको छ।
‘सुक्खा बन्दरगाहमा संरचना परिमार्जन आवश्यक छ, उतिबेला बनेको संरचना प्रयोगमा आएपछि त्यसमा भएका त्रुटीहरु देखिएका छन्, त्यसलाई सुधार गर्नैपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अशोक टेमानीले भने, ‘व्यापारको परिमाण पनि बढेको छ, बढ्दो व्यापारलाई धान्ने साधन त चाहिहाल्छ, सरकारसँग ठोस अरु योजना पनि हुनुपर्छ।’
ढिलै भए पनि गोदाम थपियो
पाँच नम्बर प्लेटफर्मसँग जोडिएको साबिक गोदाम चार सय मिटर मात्र छ । त्यसमा दुवैतर्फ एक सय ५० र एक सय ५० मिटर गरी तीन सय मिटर थपेर सात सय मिटर पार्न सेड निर्माण थालिएको छ । सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको सरकारी संस्था इन्टरमोडेल विकास समितिकाअनुसार सेड निर्माणका लागि मूल्य अभिवृद्धि करसहित १७ करोड ७८ लाखमा टेन्डर भएर गोदाम थप्ने काम भएको छ।
समितिका अधिकारीले गोदाम निर्माण काम सुस्त भएको बताएका छन् । ‘एक वर्षको समयावधि राखेर निर्माण कम्पनीसँग सम्झौता गरी २०७२ फागुनदेखि काम थालिएको थियो,’ योजनाका कन्सल्टेन्ट इन्जिनियर विजेन्द्र यादवले भने, ‘प्राप्त कागजातअनुसार ८९ प्रतिशत निर्माण सम्पन्न भएको छ ।’ निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुमित रौनियारले निर्माण काम ९९ प्रतिशत सम्पन्न भएको दाबी गरे । ‘हामीले निर्माण लगभग सकेका छौं, भुक्तानी बाँकी छ,’ उनले भने, ‘गोदाम हस्तान्तरण गर्ने तयारीमा छौं।’
प्रकाशित: १७ भाद्र २०७५ ०५:४८ आइतबार