अर्थ

निकासी पैठारी संघको साधारणसभा सम्पन्न

काठमाडौं – नेपाल समुद्रपार निकासी पैठारी संघको ३९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संघका पूर्वअध्यक्ष सतिषकुमार मोरले गरेको संघले जनाएको छ।

उक्त साधारणसभाले कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष ०७४/७५ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभामा महासचिव शिवकुमार अग्रवालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कुमार कार्कीले लेखापरीक्षण प्रतिवेदन पेस गरेका थिए । सभाले विभिन्न प्रस्ताव पनि पारित गरेको संघको विज्ञप्तिमा उल्लेख छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोरले व्यावसायिक क्षेत्रको हकअधिकारको रक्षा तथा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्न निजी क्षेत्रका सबै संघ–संस्था एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले यो संघ लगायत अन्य गैरनाफामूलक संघ–संस्थाहरु सिडिओ कार्यालयमा दर्ता भएकाले उनीहरुलाई पनि एनजिओको रुपमा हेर्ने परिपाटी विकास भएको भन्दै संघलाई नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर जस्तै छुट्टै किसिमले दर्ता गर्नेतर्फ पहल गर्नुपर्ने बताए।

संघका पूर्वअध्यक्ष लोकमान्य गोल्छाले ऐन, नियमका जटिलता हटाउनेतर्फ निजी क्षेत्रका सबै संघ–संस्थासँग मिलेर अघि बढ्न सुझाव दिए।

संघका अध्यक्ष हिमबहादुर रावलले व्यावसायिक एकतामा जोड दिँदै व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिका लागि व्यावसायिक पासपोर्ट उपलब्ध गराउन संघले लबिङ गरिरहेको जानकारी गराए।

भारतबाट विदेश प्रस्थान गर्नुपर्दा नयाँ दिल्लीस्थित दूतावासको पत्र आवश्यक पर्ने प्रावधानले व्यवसायीलाई निकै अप्ठेरो परेकाले त्यसलाई हटाउनेतर्फ संघले पहल गर्नुपर्नेमा साधारणसभाका सहभागीहरुले जोड दिएका थिए।

प्रकाशित: १० भाद्र २०७५ ०५:४७ आइतबार

निकासी_पैठारी_संघ