अर्थ

नेपालको आर्थिक विकासमा विश्व बैंकलाई सहयोग गर्न आग्रह

अमेरिका- अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको लक्ष्यमा सहयोग गर्न आग्रह गरेका छन्। विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाई वासिङ्टन डिसीमा‌ सम्वोधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे।

नेपालले निरन्तर सुधारलाई अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको उनले बताए। उनले सन् २०३० सम्म मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नती हुने दिर्घकालीन सोचसहित प्राथमिकता तोकेर अगाडि बढेको बताए।

आजदेखि तीन दिन सम्म चल्ने बैठकमा नेपालको तर्फबाट मन्त्री खतिवडासंगै अमेरिकाको लागि नेपाली राजदूत अर्जुन कुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल सहभागी छन्। बैठकमा विश्व बैंकका पदाधिकारीहरुले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायीक वातावरण सम्बन्धमा जिज्ञाशा राखेका थिए।

यस्तै आजै विश्व बैकको मुख्यालय वासिङटन डिसिमा अर्थमन्त्री खतिवडा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष हार्ट्विग सेफरबीच भेटवार्ता भएको छ। भेटमा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालमा संघीयता कार्यान्वयनको दिगोपनाको अवस्थाबारे जिज्ञाशा राखेको नेपाली दुतावासले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७५ ०७:५४ बुधबार

विश्व बैंक अर्थमन्त्री