अर्थ

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

बेँसीशहर - आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो।

सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप-कार-भ्यान चालक, एक हजार २२७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपांग्रे साना सवारीसाधनका चालकबाट रु १४ लाख २६ हजार, ट्याक्टर चालकबाट रु नौ लाख २२ हजार, ट्रक चालकबाट रु सात लाख र बस चालकबाट रु तीन लाख ५१ हजार राजश्व संकलन गरिएको छ।

गत आवको तुलनामा रु नौ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी रु ४६ लाख ९३ हजार राजश्व संकलन गरिएको थियो।रासस

प्रकाशित: १६ श्रावण २०७५ ०५:४० बुधबार

ट्राफिक कारबाहीबाट ५६ राजश्व