काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालले (टान) नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेका छन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासँगै टानले पनि भर्जिन पर्यटकीय गन्तव्यको खोजि थालेका हुन्।
टानका गन्तव्य अनुसन्धान तथा प्रर्वद्धन विभागका प्रमुख सुकबहादुर लामाले यथावत गन्तव्यलाई प्रवर्द्धन र नयाँ गन्तव्यको रुट तय गर्नका लागि कार्ययोजना अघि बढाएको जानकारी दिए।
‘टानले गत हप्ता मात्रै गुरिल्ला ट्रेक, गुर्जु हिमाल ट्रेक र ढोरपाटन टे«किङ क्षेत्रसँग जोडिएको बाग्लुङको बुङगो दोभानको पदमार्ग अध्ययन थालेको छ। यो रुट नयाँ गन्तव्य हो’, गन्तव्य अनुसन्धान तथा प्रवर्द्धन विभागका प्रमुख लामाले भने, ‘बुङगो दोभान हुँदै कटेरी बराह ताल, अंखुटे, गुर्जा, नौडल्ले, नर्जाखाने, खुङखान,े तमान, सुले, दुर्लेक रुट पर्छ। यसपछि दरबाङ हुँदै बेनिको बाटो भएर पोखरा आइपुग्छ।’
आन्तरिक तथा बाह्य पर्यटकका लागि उक्त रुट नयाँ गन्तव्य रहेको लामाको भनाई छ। उक्त रुटमा ट्रेकिङ गर्न दुई हप्ता लाग्ने लामाले जानकारी दिए।
उनका अनुसार यस रुट एक हजारदेखि ३६ सय उचाई रहेका छन्। गर्मी मौसमदेखि चिसो मौसमका कारण यस क्षेत्रमा अर्गानिक फलफूल, पाँचऔले जस्ता जडिबुटी पाइने उनको भनाई छ। यस्तै, लोपन्मुख जंगली पशुपक्षी समेत सजिलै देख्न उनले बताए। ‘यो रुटको नामकरण गर्ने सम्बन्धमा पर्यटन व्यवसायीबीच छलफल भइरहेको छ। यो क्षेत्रको मुख्य आकर्षक केन्द्र नौडल्ले पहाड हो,’ उनले भने, ‘दक्षिण हुँदै उत्तर तर्फ लाग्ने भएका कारण हिमाल सजिलै देखिन्छ। टानले अध्ययन गरेको यो नयाँ गन्तव्यको नाम छिटै टुंगो लाग्ने छ।’
नयाँ ठाउँ हेर्न चाहाने विदेशी पर्यटकका लागि उक्त गन्तव्य उपयुक्त रहेको उनको भनाई छ। तमाम गाउँ र खुमखानी गाउँमा होम स्टेको सम्भावना छ। यही रुटबाट डोल्पा र हुम्ला समेत जान सकिने अध्ययन देखाएको छ। अध्ययन अनुसार अन्नपूर्ण, निलगिरी, माछापुच्छे सजिलै देखिन्छ।
बागलुङ तामनखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगरका अनुसार उक्त गाउँपालिकामा रहेको बराहताल तथा नौ डल्लेबाट माछापुच्छ्रे, धौलागिरी एक देखि ५ सम्म, चुरे, घोडेकन्य, गुर्जा, कम्बोन, मानापाथी, छौराबोङ, म्याग्दीमाथा लगायतका हिमालहरु देख्न सकिने बताए।
अध्ययन टोलीमा टानका सुविना माननधर, हिमालयन म्याप हाउसका कार्टोग्राफर कृष्ण महर्जन, फेसेस ईन्टरटेन्टमेन्टका फिल्ममेकर राजु मगर, राङडोल लामा रहेका थिए।
प्रकाशित: ११ असार २०७५ १५:५३ सोमबार