अर्थ

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

अनुमति नलिई नापतौलबाट गुणस्तर चिह्न ‘एनएस’ छाप प्रयोग गरेको पोट्याटो क्र्याकर ।तस्बिर : नागरिक

काठमाडौं - सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर चिह्न ‘एनएस’ प्रयोग गरेको पाइएपछि उद्योगमा सिल गरेको विभागको भनाइ छ।

उक्त उद्योगले २५ ग्रामको पोट्याटो क्र्याकरमा इजाजत नलिई ‘एनएस’ विभागले जनाएको छ । कानुन उल्लंघन गरेर उत्पादित क्र्याकर पनि जफत गरिसकेका छौं,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगमा सिल गरिसकेका छौं । व्यवसायीसँग बयान लिन कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

विभागको टोलीले नियमित बजार अनुगमनका क्रममा उक्त उद्योगले इजाजतबिनै एनएस चिह्न प्रयोग गरेको फेला पारेको महानिर्देशक पुडासैनीको भनाइ छ ।कम्पनीले स्वीकृति नलिई वर्षौंदेखि आफ्नो उत्पादनमा एनएस लोगो छापेर सामान बिक्री गर्दै आएको विभागले जनाएको छ । विभागबाट एनएस चिह्न लिन उद्योगीले नियमानुसार प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

उद्योगले उत्पादन गरेको वस्तुको गुणस्तर परीक्षण गरेपछि मात्रै सरकारले एनएस चिह्न उपलब्ध गराउने विभागका महानिर्देशक पुडासैनीको भनाइ छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले कुनै पनि उद्योगको उत्पादनले मापदण्ड पूरा नगरेको भेटिए जफत गर्न सक्ने जानकारी दिए ।

‘खाद्य वस्तुको गुणस्तर परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गर्ने हो । पोट्याटो क्र्याकरको गुणस्तर परीक्षण गराएको हुनुपर्छ तर अनुमतिबिना एनएस लोगो प्रयोग गर्नु गैरकानुनी हो,’ प्रवक्ता वस्तीले भने, ‘यो विषयमा भर्खरै जानकारी पाएकाले थप अनुसन्धान गर्नेछौं ।’अहिले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पनि खाद्य वस्तुको विशेष अनुगन थालेको छ । तर, मापदण्ड पूरा नगरेका विभिन्न खाद्य उद्योगलाई निर्देशन मात्रै विभागका अनुगमन टोलीले दिने गरेका छन् ।

आपूर्ति विभागका निर्देशक दिपक पोखरेलले अहिले बजार अनुगमन अन्तर्गत खाद्यवस्तुको गुणस्तर, अवधि र मिसावटको विषयमा विशेष अनुगमन थालेको बताए । तर, बिना इजाजत एनएस चिह्न प्रयोगका विषयमा आफूलाई जानकारी नभएको पोखरेलको भनाइ छ ।
 

प्रकाशित: ७ असार २०७५ ०२:३६ बिहीबार

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा