अर्थ

२५ मिनेटको उडानलाई ७० मिनेट

पोखरा विमानस्थलमा जहाज होल्डमा परेपछि अलमलमा परेका यात्रु। यो जहाजमा चढिसकेका यात्रुलाई पनि काठमाडौंको आकास व्यस्त रहेको भन्दै ओरालिएको थियो। तस्बिर : सन्तोष/नागरिक

पोखरा – पोखराका एकजना पुराना उद्यमी केही दिनअघि पोखराबाट हवाईजहाज चढेर काठमाडौं जाँदै थिए। पोखरा विमानस्थलबाट उडेका ती उद्यमीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदा ७० मिनेट लाग्यो। उनै उद्यमीलाई त्यही रुट (पोखरा–काठमाडौं) को दोस्रो यात्रामा ५५ मिनेट लाग्यो।

पोखरा–काठमाडौं हवाई यात्राको अवधि जम्मा २५ मिनेट हो। तर, उनले अघिल्लो यात्रामा अतिरिक्त ४५ मिनेट आकासमा बिताउनुप-यो। यो समय (४५ मिनेट) झन्डै पोखरा–काठमाडौं रुटमा दोहोरो यात्राको अवधि हो। दोस्रोपटकको यात्रामा आधा घन्टा आकासमा पर्खिनुप-यो।

पोखरा–काठमाडौं हवाई यात्रामा निर्धारित बाहेक अतिरिक्त समय आकासमै पर्खिनुपर्ने अहिले नियमित जस्तै बनेको छ। यसले हवाई यात्रुलाई टाउको दुखाइ बनाएको छ। पोखराबाट निर्धारित समयमा जहाज उडेपनि काठमाडौंको आकासमा लामो समय ‘होल्ड’ बस्नुपर्दा यात्रु तनावमा पर्ने गरेका छन्।

‘मेरो दोस्रो यात्रा झनै अचम्मको थियो। जहाज चढ्न भ-याङ उक्लिदै गर्दा उल्टो ओर्लिन पो भनियो। अनि आधा घन्टा थप पर्खाएर बल्ल जहाज चढाइयो,’ ती उद्यमीले भने, ‘अनि २५ मिनेटमा काठमाडौं पुग्नुपर्नेमा ५५ मिनेट लाग्यो।’ काठमाडौंको आकास व्यस्त रहेको भन्दै जहाजलाई पोखरा विमानस्थलमै रोक्ने गरिएको पनि उनले बताए।

‘जहाज चढिसकेका यात्रुलाई काठमाडौंको आकास व्यस्त रहेको भन्दै आधा घन्टा अरु पर्खिन भनियो। इन्जिन स्टार्ट भएको जहाजलाई रोकियो। जहाजको सिटमा बसिसकेका यात्रुलाई ओरालेर फिर्ता पठाउँदा झनै तनाव हुने रहेछ,’ उनले भने, ‘कतिपय यात्रु त जहाजमा प्राविधिक समस्या आएर पो हो कि भन्ने त्रासमा हुन्छन्। यसले यात्रुलाई यात्रा अवधिभर तनाव बनाउँछ।’

ती उद्यमीका अनुसार निर्धारितभन्दा बढी समय लाग्दा हवाई यात्रु बढी तनावमा हुने गर्छन्। उनका अनुसार दोस्रो यात्राका दौरान जहाज आकासमा होल्ड हुँदा एकजना यात्रुको प्रेसर बढेको थियो। ‘प्रेसरका बिरामी रहेछन्। २५ मिनेटमा काठमाडौं ओर्लिनुपर्नेमा झन्डै एक घन्टा आकासमा रोकिएपछि ती बिरामी प्रेसर बढ्यो भन्दै आत्तिएका थिए,’ उनले भने, ‘जहाजका अतिरिक्त इन्धन त बढी खपत भयो नै लामो समय आकासमा होल्ड हुँदा अधिक तनाव हुने रहेछ। किन रोकियो, कति समय लाग्ने भन्ने थाहा नहुँदा के कसो हुने भन्नेमा चिन्ता हुन्छ।’

विमानस्थलमा लिन आएका आफन्त पनि तनावमा, जहाजका यात्रु झनै तनावमा, नेपालको आन्तरिक हवाई यात्रा तनावपूर्ण हुन थालेको उनले बताए। ‘अब म जहाज चढ्दिन, बरु गाडीमा सात–आठ घन्टा लगाएर काठमाडौं जान्छु। गाडीमा जाँदा कम्तिमा बाटो अवरुद्ध भयो भने पनि कारण त थाहा हुन्छ। जहाजको यात्रा अन्योलमा हुने गरेको छ,’ ती उद्यमीले भने, ‘सरकारले यो बारेमा नसोच्ने हो भने यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश फैलाउँछ।’

अर्का यात्रु विवेक श्रेष्ठको पनि यस्तै गुनासो छ। ११ बजे काठमाडौंमा तय भएको मिटिङ भेट्न पोखराबाट बिहान पहिलो उडान (काठमाडौंका लागि साढे ८ बजे) जान थालेका श्रेष्ठ काठमाडौं ओर्लिदा १० बजेको थियो। ‘जहाजभित्र पुगेर सिटमा बसिसकेको थिए। काठमाडौंको आकासमा ट्राफिक जाम रहेको भन्दै जहाजभित्रबाट ओरालियो,’ श्रेष्ठले भने, ‘अनि आधा घन्टा पर्खाएर बल्ल जहाज चढाइयो। अनि काठमाडौंस्थित विमानस्थल ओर्लिदा एक घन्टा लाग्यो।’

सुरक्षित र छिटो भनिने हवाईजहाजको यात्रा अहिले झन्झटपूर्ण र तनावमय हुन थालेको उनले बताए। ‘जहाज चढेर नओर्लिएसम्म परिवारलाई पनि तनाव, यात्रुलाई झनै तनाव,’ पोखराका युवा चार्टर एकाउन्टेन्ट समेत रहेका श्रेष्ठले भने, ‘मिटिङ सकेर त्यही दिन दिउँसो फर्किने गरी टिकट लिएको थिए। समयमै काठमाडौं पुगेर आफ्नो तालिकाको काम सकिन्न कि भन्ने चिन्ता थियो। धन्न पुगेर हतारहतार काम सक्न पाए। फर्किंदा पनि त्रिभुवन विमानस्थलमा केहीबेर रोकिएँ।’

काठमाडौंको आकासमा हुने एयर ट्राफिक जामले अहिले यात्रुलाई तनाव हुन थालेको छ। समयमा उडान र अवतरण नहुँदा हवाईयात्राप्रति यात्रुको विश्वसनीयता घट्न सक्ने हवाई कम्पनीको भनाइ छ। एक निजी हवाई कम्पनीका पोखरास्थित स्टेसन म्यानेजरले यात्रुलाई मात्र नभई आफूहरुलाई समेत तनाव बढ्न थालेको बताउँछन्।

‘हामीले पोखराको टावरमार्फत काठमाडौं सम्पर्क गरेर मात्र जहाजको इन्जिन स्टार्ट गर्नेदेखि यात्रुलाई जहाज चढाउने गर्छाैं। सुरुमा अनुमति दिने, तर, पछि काठमाडौंको आकास व्यस्त छ भनेर जहाजलाई पोखरामै रोकिदिन्छ,’ ती म्यानेजरले भने, ‘चालक दलका सदस्य पनि यस्तो व्यवहारबाट दिक्क छन्। निर्धारित समयमा उडान गर्न नपाएको र गन्तव्यमा पुग्न नसकेको भन्दै चालक दलका सदस्यलाई पनि तनाव हुने गरेको छ।’

काठमाडौंको आकासमा लामो समय होल्ड हुँदा पोखराबाट जहाज चढेका यात्रुका आफन्त आत्तिएर आफूहरुलाई फोन गर्ने गरेको ती म्यानेजरले बताए। आकासमा होल्ड भएर उडान समय फेरबदल हुँदा व्यवस्थापनमा समस्या हुने गरेको पनि उनले बताए। ‘जहाजको इन्धन त खपत धेरै नै हुन्छ। त्यसले यात्रुलाई पनि तनाव बढाउने गरेको छ,’ उनले भने, ‘लामो समय होल्ड हुनु सबैतिरबाट जोखिमपूर्ण हुनसक्छ।’

पोखराबाट अहिले बुद्ध, यती, नेपाल वायुसेवा, सिम्रिक एयरले दैनिक डेढ दर्जनभन्दा बढी उडान काठमाडौंका लागि गर्छन्। पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुराँगाई यो समस्यासँग आफू ज्ञात रहेपनि काठमाडौंले समस्या पारेको बताउँछन्। ‘आकासमा लामो समय होल्ड हुँदा यात्रुलाई तनाव हुनु स्वभाविक हो,’ उनले भने, ‘लामो समय होल्ड हुनु राम्रो होइन।’

उनका अनुसार काठमाडौंको यो समस्या हल गर्न विज्ञ टोलीले अध्ययन गरिरहेका छन्। ‘विदेशी विज्ञ झिकाएर यो समस्या समाधान गर्ने उपाय पत्ता लगाउने तयारी समेत भएको छ,’ गुरागाँइले भने, ‘कसरी हुन्छ, यसको व्यवस्थापन जरुरी छ। लामो समय आकासमा होल्ड गर्नुपर्ने अवस्था कसैका लागि पनि राम्रो होइन।’

प्रकाशित: १६ वैशाख २०७५ ०५:५७ आइतबार

२५ मिनेटको उडानलाई ७० मिनेट