अर्थ

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

काठमाडौं – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो।

वैशाख १५ गतेदेखि आयोजना गरिने तीनदिने महोत्सवबाट विहावर क्षेत्रको पर्यटनको विकासमा टेवा पुग्ने महोत्सव संयोजक क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । प्राकृतिक रूपमा विहावर क्षेत्र निकै नै धनी भएको उनले बताए।

विहावरको फुल्चोकी क्षेत्र समुद्री सतहबाट दुई हजार सात सय मिटर उचाइमा छ । उक्त क्षेत्रको फुल्चोकी डाँडाबाट सर्वाेच्च शिखर सगरमाथा, कञ्चनजंगा, गौरीशंखर, गणेश, माछापुच्छ«्रे लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँ दुई सय ८० प्रजातिका चराचुरुंगीका साथै  विभिन्न प्रजातिका पुतली पाइन्छ  । जैविक विविधताले भरपुर उक्त क्षेत्रमा चितुवा, बँदेल, मृग, सालक, दुम्सी, वनबिरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायत वन्यजन्तुसमेत छन्।

विहावर क्षेत्रको प्रमुख विशेषतामा यहाँ अर्गानिक तरकारी तथा दुग्धजन्य पदार्थ उत्पादन, जडीबुटीको प्रयोग, स्थानीय घरेलु उत्पादन प्रमुख छन् । विहावर क्षेत्र तापक्रमको हिसाबले पनि एकनासको छ । भौगोलिक क्षेत्र राम्रो भए पनि समुदाय निकै नै पिछडिएको अवस्थामा छ । यो वर्ष महोत्सवको शुरुआत भए पनि आगामी वर्ष पनि यसलाई निरन्तरता दिइने कुशादेवी सरोकार समाजका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । महोत्सवको नामबाट नै पछि संस्थाको गठन गरिने उहाँले जानकारी दिनुभयो।

‘विहावर नाम ऐतिहासिक भएका कारण पनि महोत्सवको नाम विहावर पर्यटन महोत्सव राखिएको हो,’ कुशादेवी सरोकार समाजका अध्यक्ष पुरुषेत्तम सापकोटाले भने । विहावर क्षेत्रको पर्यटनको विकासका लागि सरकारको आँखा नपरेकाले उक्त क्षेत्रको पर्यटनको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको पनि उनले बताए । पैसा कमाउनु मात्र महोत्सवको उद्देश्य नरहेको, उक्त क्षेत्रको प्रचार नै मुख्य रहेको आयोजक समितिले जनाएको छ।

महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादित खानालगायत उत्पादित कृृषि उपजलाई प्राथमिकता दिइनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा दौड, प्याराग्लाइडिङ र साइक्लिङ मुख्य आकर्षण रहनेछन् साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई पनि सहभागी गराइनेछ। बुधबार पत्रकार सम्मेलन  गरी सरोकार समाजले महोत्सवबारे जानकारी दिएको थियो।

 

प्रकाशित: १३ वैशाख २०७५ ००:४२ बिहीबार

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै