अर्थ

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै

भारतको हल्दियास्थित बन्दरगाहमा राखिएको कन्टेनर। तस्बिर : नागरिक

वीरगन्ज – तेस्रो मुलुकबाट भारतीय बन्दरगाह भएर नेपालका लागि आउने मालसामानले पूरा गर्नुपर्ने भन्सार औपचारिकता हटाउने प्रक्रिया सुरु भएको छ। ट्रान्जिट भएर आवागमन हुने मालसामानको भन्सार प्रक्रिया सम्बन्धित देशको सीमामा मात्र हुने अन्तर्राष्ट्रिय अभ्यास छ। नेपाली मालसामानको लागि भने भारतीय बन्दरगाह भएको ठाउँमा भन्सार पास पक्रिया रही आएकोमा अब त्यो हटाउन लागिएको हो।

‘आजभन्दा ६ दशकअघि तेस्रो मुलुकसँगको व्यापार भारतको कोलकाता बन्दरगाह भएर सुरु हुँदा नेपालसँग त्यस्तो व्यापारको अनुभव थिएन। एक किसिमले सहजीकरणको लागि भारतीय बन्दरगाह र त्यहाँको भन्सारलाई जिम्मा दिनु उतिबेला स्वाभाविक थियो, अब अवस्था फेरिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघको रोड ट्रान्सपोर्ट तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानीले भने, ‘भारतको आफ्नो राजस्व सरोकार र सुरक्षा चासो पनि थियो। अब भने यस्ता कुराको लागि प्रविधि र प्रणाली विकसित भइसकेका छन्। नेपालले तेस्रो मुलुकसँगको व्यापारमा लामो अनुभव बटुलिसकेको छ। यस्तोमा भारतीय बन्दरगाह ट्रान्जिटमा सबिकजस्तै भन्सार प्रक्रिया लगायत हुनु हुँदैन।’

विशाखापट्नम बन्दरगाह भएर हुने व्यापारमा आयातकर्ताको तर्फबाट हुने भन्सार प्रक्रिया हटेको छ। विशाखापट्नम बन्दरगाहस्थित विशाखा टर्मिनल्सका वरिष्ठ महाप्रबन्धक कल्याण चक्रवर्तीका अनुसार आयातकर्ताले नभई सिपिङ कम्पनीले नै त्यहाँ समान्य औपचारिकता पूरा गरे पुग्छ। कोलकाता र हल्दिया बन्दरगाहमा पनि भन्सार प्रक्रियामा १४ वटा कागजी प्रक्रिया गर्दै आएकोमा त्यसलाई घटाएर आधा पारिएको छ। आउँदो भारतीय आर्थिक वर्षदेखि कोलकाता बन्दरगाहमा एक पन्ना कागजमै भन्सार औपचारिकता सीमित हुने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनय कुमारले बताए।

‘कोलकाता बन्दरगाह भनेको हाम्रो लागि ट्रान्जिट बिन्दु हो, हाम्रा कन्टेनरहरु निर्यातकर्ता देशबाट हिँड्दा सिंगापुर र कोलम्बो बन्दरगाहमा पुग्नुपर्ने हुन्छ, त्यहाँ कुनै भन्सार प्रक्रिया गरिँदैन, भारतीय बन्दरगाहमा पनि त्यही सुविधा हामीले खोजेको हो,’ आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले भने, ‘यो वर्ष तेस्रो मुलुकसँगको हाम्रो व्यापारलाई सहज बनाउने दिशामा धेरै महत्वपूर्ण काम भएका छन्, त्यसमध्ये एउटा हो– भारतीय बन्दरगाह भएर मालसामान मगाउँदा गरिने भन्सार प्रक्रिया सरल हुनु। विशाखापट्नममा त यो लगभग हटिसकेको छ, कोलकाता बन्दरगाहले पनि त्यतातिर काम गरिरहेको बुझिएको छ।’

निर्यातकर्ताले आयातकर्ताको नाममा दिने बिजक अर्थात ‘बिल अफ लिडिङ’मा वीरगन्ज ‘आइसिडी’ (इनल्यान्ड कन्टेनर डिपो) गन्तव्य तोकेर उल्लेख हुन थालेपछि भन्सार प्रक्रिया भारतीय बन्दरगाहबाट गन्तव्य रहेको नेपाली सीमास्थित भन्सारमा सरेको हो। त्यस्तै ढुवानीकर्ता सिपिङ कम्पनीले ‘सिआइएफ’ (कस्ट, इन्स्योरेन्स एन्ड फ्रेट) भन्ने कागजातमा नेपाली ठाउँलाई गन्तव्य उल्लेख गर्न सुरु गरेपछि यो सम्भव हुन सकेको हो। नेपाली मालसामानको कन्टेनर गन्तव्य कोलकाता उल्लेख भएर पहिले आउने गरेको थियो। त्यसकारण उक्त कन्टेनरलाई भन्सार प्रक्रियमा लगेर त्यहाँबाट ‘सिटिडी’ (कस्टम ट्रान्जिट डिक्लेरेसन) को कागजात भारतीय भन्सारले दिनु स्वाभाविक रहेको भारतीय सरोकारवालाले बताउने गरेका छन्। अब भने मालसामानसँगै कन्टेनरको समेत नेपाल नै गन्तव्य तोकिन थालेपछि भारतमा नेपाली सामानको भन्सार प्रक्रिया हटाउन सहज भएको हो।

भारतको लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालका अनुसार नेपाली आयात व्यापारलाई सहज बनाउन पछिल्लो समय भएका धेरै सुधारमध्ये एउटा हो– भारतमा भन्सार प्रक्रियाको कुरा।

‘भारतीय पक्ष हाम्रा सरोकारमा गम्भीर छ, हामीले पनि भारतीय चासोलाई त्यसै गरी गम्भीर रुपमा लिएका छौं। व्यापारमा लाग्ने समय र लागत कसरी घटाउने भन्ने हाम्रो सरोकार हो। त्यस्तै राजस्व सुरक्षा र सुरक्षा उनीहरुको सरोकार हो,’ अर्यालले भने, ‘हामी निरन्तर छलफलमा छौं, भारतीय बन्दरगाहबाट आयात गर्दा अहिले पहिलेजस्तो धेरै चरणको र झन्झटिलो भन्सार औपचारिकता अहिले गर्नु पर्दैन। थोरै र सहज भएको छ। यसलाई अझ न्यूनीकरण गर्नेतिर पहलहरु भइरहेका छन्।’

विशाखापट्नममा भन्सार औपचारिकताबाट नेपाली आयातकर्ता मुक्त भएजस्तै कोलकाता, हल्दिया र भविष्यमा प्रयोगमा आउने अरु बन्दरगाहबाट नेपाली आयातले सुबिधा पाउनुपर्ने आफ्नो धारणा रहेको उनले बताए। भारतीय सरकारी निकायले इसिटिएस’ (इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम) अर्थात विद्युतीय कार्गो निगरानी प्रणाली भारत भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा लागू गर्ने परीक्षण योजना अहिले चलिरहेको छ। यसले गर्दा भारतीय ट्रान्जिटमा भन्सार प्रक्रिया घटाउन मद्दत मिल्ने कोलकाता पोर्ट ट्रस्टका टर्मिनल व्यवस्थापक सुधांशु शेखरले बताए।

प्रकाशित: ९ वैशाख २०७५ ०५:५९ आइतबार

भारतीय बन्दरगाहमा नेपाली कार्गोको भन्सार पक्रिया हट्दै