अर्थ

वैदेशिक व्यापार ३० अर्ब बढ्यो

मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ। भन्सार विभागका अनुसार निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ भने आयात पनि बढेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक व्यापार करिब ३० अर्ब रुपैयाँले बढेको छ। कुल वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको छ।

यो वर्ष पाँच महिनामा ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागले जनाएको छ। गत वर्ष सोही अवधिमा ७ खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

चालु आवको पहिलो पाँच महिना (मंसिर मसान्तसम्म) मा निर्यात १६.५४ प्रतिशत र आयात तीन प्रतिशतले वृद्धि भएको छ। पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।

गत वर्षको सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो। मुलुक भित्र खपत वृद्धि भए पनि आयात पनि गत वर्षको तुलनामा करिब १९ अर्ब रुपैयाँले वृद्धि भएको छ।

यो पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरका वस्तु आयात भएको थियो। ५ महिनाको अवधीमा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ।

नेपालबाट धेरै निर्यात हुने वस्तुमा स्टिलजन्य वस्तु, धागो, कार्पेट, तयारी पोसाक, जुस, चिया, अलैंची, प्रशोधित पाम तेल, हस्तकलाका सामग्री, डेरी प्रोडक्ट, महलगायत छन्। 

निर्यात बढेपछि व्यापार घाटा पनि घटेको छ। मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा परेका कारण खपत वृद्धि हुन नसक्दा आयातमा पनि गिरावट आएको थियो। बजारमा उपभोग बढेकाले आयात बढेको सरोकारवाला बताउँछन्। आयात व्यापार वृद्धि हुँदा राजस्व पनि बढेको छ। आयातमा आधारित राजस्व बढेकाले यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पनि देखिएको छ।

नेपालले ठुलो व्यापार घाटा बेहोर्दै आएको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तु विदेशबाट आयात हुँदा मुलुकले व्यापार घाटा व्यहोर्दै आएको हो। एक सय १० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा छ। दुई दर्जन हाराहारी मुलुकसँग मात्र नेपालको वैदेशिक व्यापार नाफामा छ। सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ।

भारतबाट चार खर्ब १० अर्ब ५५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ५२ अर्ब १ करोड रुपैयाँको निर्यात भएको छ। भारतसँग ३ खर्ब ५८ अर्ब ५४ करोड ब्यापार घाटा छ।

सरकारले स्वदेशमा उत्पादन वृद्धि गरेर निर्यात व्यापार बढाएर व्यापार घाटा न्यूनीकरण गर्ने बताउँदै आए पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन।

निर्यात बढाउन अनुदान दिँदै आएको छ। आयात व्यापारमा अपेक्षित सुधार नभएका कारण विदेशी मुद्राको सञ्चिति निकै बढेको छ।

प्रकाशित: ७ पुस २०८१ २०:१० आइतबार