अर्थ

उत्पादनमा आधारित अर्थतन्त्रको आवश्यकता: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालले आयातमा निर्भर अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार थापाथलीस्थित परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै, अध्यक्ष अग्रवालले परिसंघको प्रमुख उद्देश्य स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नु रहेको बताए।

उनले चार वर्षको प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि पारित गरेको स्मरण गर्दै “मेक इन नेपाल” अभियानको मुख्य उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग प्रवर्द्धन गर्नु भएको बताए।

परिसंघले पूर्वाधार विकास, महिलाको सशक्तीकरण, र सञ्चारकर्मीसँग सहकार्य गरी अर्थतन्त्र विकासमा सहयोग पुर्‍याउने नयाँ कार्यक्रमहरू सुरु गरेको उनले उल्लेख गरे।

अग्रवालले आर्थिक नीतिका केही जटिल विषयवस्तुमा सञ्चारकर्मीहरूलाई जानकारी दिन र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउन नयाँ कार्यक्रमको थालनी गरिएको जानकारी दिए।

उनले भने, “आयकर ऐन २०५८ को दफा ५७ का सन्दर्भमा छलफल गरेका छौं। यसले स्वदेशी र विदेशी लगानीका अवरोधबारे बहस गर्न सहयोग पुर्‍यायो। छलफलले परिसंघ र मिडियाबीच सशक्त सहकार्यको अवसर पनि सिर्जना गरेको छ।”

विद्युत प्राधिकरणले हालै लोडसेडिङ गर्ने घोषणा गरेको सन्दर्भ उठाउँदै अध्यक्ष अग्रवालले यसले उद्योगहरूलाई गम्भीर आर्थिक असर पुर्‍याउने चेतावनी दिए।

“अघिल्लो वर्ष तामाकोशी आयोजनाबाट विद्युत उत्पादन हुँदा पनि उद्योगहरूले दिनको १२ घन्टासम्म लोडसेडिङ सहनुपरेको थियो। अहिले तामाकोशीको बाहानामा लोडसेडिङको औचित्य कति छ, यो बहसको विषय हो,” उनले भने।

उनले भारतबाट विद्युत आयात नगरी नेपाललाई “नेट एक्सपोर्टर” देखाउन खोजिएको प्रसंग उठाउँदै यस्तो रणनीतिले अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव नपरेको टिप्पणी गरे।

“विद्युत उत्पादन क्षेत्रको आधारभूत कच्चा पदार्थ हो। यसको अभाव हुँदा आत्मनिर्भर अर्थतन्त्र र आयात प्रतिस्थापनको सोच मात्र कल्पना जस्तो लाग्छ। यस्तो अवस्थालाई दुर्भाग्य भन्नु पर्छ,” अग्रवालले भने।

उनले उत्पादनमूलक क्षेत्रलाई प्रवर्द्धन गर्न आधारभूत संरचनाको स्थायित्व र आवश्यक स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्न सरकार र सरोकारवालाहरूलाई आग्रह गरे।

प्रकाशित: ३ पुस २०८१ २०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App