अर्थ

शिवाई पुल: १३ वर्षमा बन्यो, बाढीले भत्कियो, अढाई वर्षदेखि अलपत्र !

बाढीले अढाई वर्षअघि भत्काएको त्रियुगा नदीमाथिको शिवाई पुल।

उदयपुरको चौचण्डीगढी नगरपालिका-५ शिवाईस्थित त्रियुगा नदीमाथिको निर्माणाधीन पक्की पुल अढाई वर्षदेखि अलपत्र अवस्थामा छ।

निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको पुल बाढीले भत्काएपछि न मर्मत न पुनर्निर्माणको टुंगो लाग्दा स्थानीयवासी निराश बनेका छन्।

सुन्दरपुर र बेलहालाई जोड्न १३ वर्षअघि सुरु भएको यो पुल ०७८ असार २० मा आएको बाढीले एउटा पिल्लर भत्काएपछि दुई स्पान नष्ट भयो। त्यसको केही दिनमै साउन २ मा थप बाढीले अर्को पिल्लर भत्काएपछि तीन स्पान पूर्ण रूपमा ध्वस्त भएका छन्।

पुल नगरपालिका केन्द्र बेलटार बजारसँग सुन्दरपुर, शिवाई, बेलहा, हडिया र जोगीदहलगायतका बस्तीलाई जोड्न निर्माण गरिएको हो। ठेकेदार कम्पनीको लापरबाहीले १३ वर्षमा बल्ल सम्पन्न हुने अवस्थामा पुगेको पुल बाढीले भत्काउँदा स्थानीयहरू आक्रोशित भएका छन्।

पुल भत्केको केही दिनपछि प्राविधिक टोलीले स्थलगत अध्ययन गरे पनि हालसम्म मर्मत गर्ने वा नयाँ बनाउने निर्णय हुन सकेको छैन। गाईघाट-दिक्तेल सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीका अनुसार विभागीय प्रतिवेदन विचाराधीन छ। पुल मर्मत गर्न ९ करोड बजेट आवश्यक पर्ने प्राविधिक इस्टिमेट छ भने पुनर्निर्माण लागत अझै अज्ञात छ।

२०६७ सालमा ९ करोड ७६ लाख लागतमा सुरु गरिएको १३ स्पानको यो पुल तीन वर्षमै सक्नुपर्ने सम्झौतामा थियो। तर, १३ वर्षमा बल्ल निर्माणको अन्तिम चरणमा पुग्दा बाढीले ध्वस्त पार्‍यो। निर्माण ढिलाइका कारण लागत ११ करोड २७ लाख पुगेको थियो।

स्थानीयले गुणस्तरहीन सामग्री र प्राविधिक त्रुटिले पुल भत्किएको दाबी गरेका छन्। माटो परीक्षणदेखि फाउण्डेशन गाड्नसम्म लापरबाही भएको र कमजोर संरचनाका कारण पुल बाढीमा भत्केको उनीहरूको ठहर छ।

स्थानीय बासिन्दाले पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि कुनै ठोस कदम चालिएको छैन। प्रदेशसभा सदस्य राजन किराती र प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले पुल तत्काल मर्मत वा पुनर्निर्माणका लागि दबाब दिए पनि अहिलेसम्म प्रगति देखिएको छैन।

स्थानीयले पुल मर्मतको माग गर्दै सरकारप्रति चासो र गम्भीरता देखाउन आग्रह गरेका छन्। बाढीले भत्काएको यो महत्वपूर्ण संरचना समयमा पुनःनिर्माण नभए स्थानीय जनताको निराशा अझै गहिरिने देखिन्छ।

प्रकाशित: ३ पुस २०८१ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App