अर्थ

‘वार्षिक सवा खर्बको आइटी सेवा निर्यात, तीन खर्बको लक्ष्य’

इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्रमा अवसर बढ्दै गएको छ। हरेक क्षेत्रमा डिजिटलाइजेसन हुँदै गएपछि स्वदेशमा मात्र प्रयोग गर्ने नभएर अर्बौं रूपैयाँको आइटी सेवा विदेश निर्यात हुन थालेको छ।

नेपाल उद्योग परिसंघ आइटी काउन्सिलका अध्यक्ष अजितविक्रम शाहका अनुसार नेपालबाट वार्षिक करिब एक अर्ब डलरको आइटी सेवा निर्यात हुन थालेको छ। ‘आइटी सेवा कम्पनी मात्र नभएर व्यक्तिगत रूपमा पनि सेवा निर्यात हुन्छ,’ शाहले नागरिकसँग भने, ‘कम्पनीले संस्थागत रूपमा गरेको निर्यात मात्र राज्यको रेकर्डमा देखिन्छ।’

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले गरेको एक अध्ययनमा सन् २०२२ मा करिब ६८ अर्ब रूपैयाँको औपचारिक रूपमा निर्यात भएको देखिए पनि अनौपचारिकसहित अहिले दोब्बर बढेको अध्यक्ष शाहले बताए। ‘व्यक्तिगत रूपमा विदेशमा सेवा गरेर अर्बौं रूपैयाँ भित्रिएको छ। आइटी सेवाअन्तर्गत कम्युटर, इन्टरनेट प्रयोग गरेर हुने सूचना प्रविधिसँग सम्बन्धित सेवा बुझिन्छ,’ उनले भने, ‘कम्युटर तथा इन्टरनेटसँग सम्बन्धित भएर हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन मार्केटिङलगायत कामहरू आइटी सेवामा पर्छन्।’

विभिन्न कम्पनीले संस्थागत तथा व्यक्तिगत रूपमा पनि यो सेवा निर्यात गर्दै आएका छन्। विश्व बजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र सूचना प्रविधि हो। सबै काम इन्टरनेटको सहायतामा अनलाइनमार्फत हुन थालेपछि यसको माग ह्वात्तै बढेको हो। कोभिडपछि धेरैले अनलाइनबाट काम गर्न थालेपछि आइटीको अवसर बढेको हो। कतिपयले नेपालमै बसेर अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडा, युरोपमा आइटीको सेवा दिँदै आएका छन्।

आइटीमा सिप भएका युवाले नेपालमा बसेर लाखौं रूपैयाँ आम्दानी गर्न सक्ने यस क्षेत्रका जानकार बताउँछन्। आइटीमा सिप भएका युवाले नेपालमै बसेर मासिक हजारदेखि १५ सय डलरसम्म आम्दानी गर्न सक्ने सूचना प्रविधिमा काम गर्दै आएको सफ्टअप कम्पनीका प्रमुख तेजविनोद पौडेल बताउँछन्। ‘मासिक दुई हजार डलरका लागि जनशक्ति विज्ञापन गरेको छु,’ पौडेलले भने, ‘नेपालमा काम गरेर विदेशमा आइटी सेवा निर्यात हुने भएकाले राम्रो अवसर छ।’

अमेरिकामा बस्दै आएका पौडेलले नेपालको कम्पनीबाट अमेरिकामा आइटी सेवा दिँदै आएको बताए। विदेशमा मात्र नभएर स्वदेशमा आइटीको जनशक्तिले राम्रो आम्दानी गर्ने गरेका छन्। सूचना प्रविधिमा अवसर देखेर सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले ल्याएको २०८१÷८२ को बजेटमा १० वर्षमा ३० खर्ब रूपैयाँको निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ। यसरी हेर्दा वार्षिक तीन खर्ब रूपैयाँको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य देखिन्छ। ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने घोषणा गरेका छन्।

कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० ओटा सूचना प्रविधि पार्क बनाउने सरकारी योजना छ। डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवद्र्धन, रोजगारीको सिर्जना, डिजिटल सुशासनका लागि सरकारले काम गर्न सुरुआत गरेको छ। सन् २०२२ मा सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको थियो। विश्व बजारमा हेरक वर्ष आइटीको माग बढ्दै गएको छ।

एक अध्ययनअनुसार नेपालबाट एक सय ६ कम्पनीले औपचारिक रूपमा आइटी सेवा निर्यात गरिरहेको देखाएको थियो। नेपालमा करिब ८० हजार जनाले आइटी क्षेत्रमा काम गर्दै आएका छन्। नेपाललाई आइटी हबका रूपमा विकास गर्न सक्ने आइआइडिएसको परामर्शदाता भएर काम गरेकी सूचना प्रविधि विज्ञ डा. अमृता शर्मा बताउँछिन्।

‘आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ,’ शर्माले भनिन्, ‘पर्यटनबाट भन्दा नेपालले आइटीबाट लाभ लिन सक्छ।’ सरकारले नीति सुधार गरेर वातावरण सिर्जना गरे सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने उनले बताइन्। विश्वव्यापी रूपमा आइटीमा अवसर भएकाले रोजगारीको अवसर रहेको शर्माको तर्क छ। ‘नेपालमा युवा जनशक्ति छ,’ उनले भनिन्, ‘अन्य विषय पढेका युवालाई पनि तालिम दिएर आइटी क्षेत्रमा ल्याउन सकिन्छ।’

प्रकाशित: १६ मंसिर २०८१ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App