अर्थ

पाँच करोडको इँटा नष्ट

भक्तपुर - एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ।

जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिए।अधिकांश इँटा भट्टामा तयारी अवस्थामा रहेका करिब १० लाख काँचो इँटा नष्ट भएको छ । अहिले काँचो इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत रोकिएको उनले बताए।

यसवर्ष गतवर्षभन्दा कम इँटा उत्पादन भएको र तयारी अवस्थामा रहेको इँटासमेत नष्ट भएपछि इँटाको अभाव हुने सम्भावना बढेको ह्याम्बाले बताए। भूकम्पपछि पुनःनिर्माणसँगै इँटाको माग अत्यधिक बढेको थियो। मागअनुसार उपलब्ध गराउन नसकिरहेको अवस्थामा असिना पानीले इँटा नष्ट गर्दा थप समस्या भएको उनको भनाइ छ ।

असिना पानीका कारण इँटा उत्पादनसमेत रोकिएको उनले बताए । इँटा पोल्ने कार्य रोकेर आगो लगाउने काम नै बन्द गरिएको छ । भक्तपुरमा आजदेखि बिस्केट जात्रा शुरु भएका कारण इँटा उत्पादन गर्न ढिलाइ हुने भएको छ।रासस

प्रकाशित: २७ चैत्र २०७४ ०७:०१ मंगलबार

करोडको इँटा नष्ट