अर्थ

तामिनले सुन्तलाको साख फर्काउन सकेन

चितवन तामिनको सुन्तला रसिलो र गुलियो हुन्छ भन्ने मान्यता स्थापित भैसकेको थियो। सुन्तलाकै करण तामिन भन्ने ठाउँ मान्छेले चिन्ने गर्दथे। करिब १५ वर्ष सुन्तला उत्पादनले यो ठाउँ ढकमक्क थियो। सुन्तला लिन मात्र नभई अनुसन्धान र अध्ययन अवलोकनका लागि देशका विभिन्न ठाउँबाट कृषि प्राविधिक तथा विद्यार्थी आउने गर्दथे। भूकम्पपछि भने तामिनले सुन्तलाको साख जोगाउन सकेको छैन।

अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन्। कुनै बेला तामिनका किसानले साढे २ करोडसम्मको सुन्तला बिक्री गर्ने तामिनले यसपटक ३० लाख रुपैयाँ पनि नपर्ने तामिन कृषि सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका सुन्तला कृषक रामप्रसाद बोहोराले बताए।

तामिनमा २०५३ सालबाट व्यवसायीक रुपमा सुन्तला खेती हुन लागेको हो। २०६० सालदेखि तामिन गाउँ ढकमक्क हुन थालेको थियो। भूकम्पपछि बर्सेनि उत्पादनमा ह्रास आएको उनले बताए। 'तामिनमा ५० घरधुरीले सुन्तला खेती गर्दथे । अहिले सुन्तला खेती गर्ने १६ घरधुरी पनि छैनन्’, उपाध्यक्ष बोहोराले भने,'एक दशक हुन लाग्यो सुन्तलाले आफ्नो साख जोगाउन सकेको छैन।’

बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ। एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ। सुन्तलाको बोटमा समस्यादेखि परेपछि अधिकांश किसानले खेती छाडेको किसान सावित्रि सिलवाल बताउँछिन्। उनका अनुसार गाउँमा अहिले सुन्तलाका बोट फ्याट्ट फुट्ट मात्र देखिन्छन्। '२०५५ सालदेखि व्यवसायीक रुपमा सुन्तला खेती गरेकी थिएँ, वार्षिक ७ लाखभन्दा बढीका सुन्तला बिक्री गर्दथे,’विगतका सुन्तला सम्झँदै सिलवालले भनिन्, 'चार सयको हाराहारीमा बोट थिए अहिले एउटा पनि छैन।’

तामिन गाउँलाई तत्कालीन समयमा जिल्लाको सुन्तला उत्पादनको पकेट क्षेत्र भनेर समेत घोषणा गरिएको थियो। यसैले पनि तामिनलाई धेरैले सुन्तला गाउँको रुपमा पनि चिन्ने गर्थे। मानिसहरू डोकामा सुन्तला बोकेर मुग्लिन झर्दथे। अहिले भने गाउँमा बेच्नेसुन्तला निकै कम हुने कल्पना सिलवालले बताइन्। '२०५९ सालतिर कृषिका मान्छेहरु सुन्तला हेर्न निकै आउँथे। त्यतिखेर पाँच लाखसम्मका सुन्तला बेच्दथ्यौँ’, उनले भनिन्,'आजभोलि एउटा बिरुवा पनि छैन।’ सुन्तलाका बिरुवा मर्दै गएपछि कृषि पेसा छाडेरउनले मुग्लिनमा पसल गर्न लागेकी छिन्। तामिनमा अहिले सडक पुगेको छ। यातायातको सुविधा पुगे पनि उत्पादन नहुँदा किसानहरू समस्यामा परेको उनले बताइन्।

तामिन सहकारीमा आबद्ध तामिन, बराबर, साठीमुरे, नेपेडाँडा, न्याब्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका थिए। अहिले नेपेडाँडा र ठबराबका बगैँचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको इच्छाकामना गाउँपालिकाकी कृषि अधिकृत समिक्षा पौडेलले बताइन्।

'तामिन सुन्तलाको पकेट क्षेत्र थियो। अहिले त्यहाँको सुन्तलामा चित्रसाईला किराबाट सर्ने। चित्र सिकलाईन’ रोग देखिएको छ,’ उनले भने,'न्यूनीकरण गर्नको लागि बगैँचालाई नै विस्थापित गर्नुपर्ने हुन्छ।’

चितवनमा सबैभन्दा बढी सुन्तला इच्छाकामना गाउँपालिकामा हुने गर्दछ। यहाँ ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ। यहाँ गत वर्ष ३ हजार ४ सय मेक्टिक टन सुन्तला उत्पादन भएको थियो। तत्कालीन कार्यालय कृषि ज्ञान केन्द्र चितवनले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन्। चितवनमा १ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ। यहाँ वार्षिक १ हजार २ सय ३ मेक्टिक टन सुन्तला उत्पादन हुने कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०८१ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App