अर्थ

पर्यटन प्रवर्द्धनका लागि २० बिघा जमिनमा ताल बनाउँदै सुस्ता गाउँपालिका

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ। आन्तरिक तथा बाह्य पर्यटन  प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए।  

सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी  ताल निर्माण गर्न लागिइएको हो।  ताल निर्माणका लागि गाउँपालिकाले रु ९० लाख खर्च गरिसकेको अधिकृत भुसालले बताए। तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उनले जानकारी दिए।  

पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए। 

तालमा माछापालनसमेत गरिने छ।लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उहाँले जानकारी दिए। ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ।  

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ।रासस

प्रकाशित: ५ कार्तिक २०८१ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App