अर्थ

एनसेलकी खड्का ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्डबाट सम्मानित

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन्। उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधा अन्तर्गत यो अवार्ड पाएकी हुन् ।

योअवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्य र तिनको प्रभावलाई दिइएको सम्मान हो। साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण हो। ‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं’, खड्काले भनिन्।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभरि एक सयभन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ। चक्रपथको कोटेश्वर–कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयमा स्थापना गरिएको आधुनिक डिजिटल आइटी ल्याब र सबै प्रदेश समेटिने गरी सञ्चालन गरिएको एटिन फर एटिन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेका केही प्रमुख परियोजनाहरू हुन्।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहल पनि सुरु गरेको घोषणा गरेको छ। यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ। एनसेलले विभिन्न सामाजिक पहलहरूमा दुई अर्ब रूपैयाँभन्दा बढीको योगदान गरिसकेको छ। सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएकाले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ।

प्रकाशित: २१ आश्विन २०८१ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App