अर्थ

तीन महिनापछि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान

फाइल तस्बिर।

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ। केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुनः उडान थालिएको हो  गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन।

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए। उनका अनुसार काठमाडाैंबाट इलामका लागि छ जना यात्रु आएको र काठमाडौंका लागि आठ जना यात्रु लिएर गएको छ।

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको हो। अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ।

बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे तीन महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ। दसैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडाैं उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको हो।

यहाँबाट बीचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो।

इलामबाट हप्ताको दुई दिन अर्थात् आइतबार र बिहीबार उडान हुँदै आएको थियो। नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ।

विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडाैं लगायतको यात्रामा सहज हुने छ।

-रासस

प्रकाशित: २७ भाद्र २०८१ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App