अर्थ

लुम्बिनीको पर्यटन विकासका आधार पहिल्याइँदै

प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासलाई लुम्बिनी प्रदेश सरकारले अपरिहार्य मान्दै आएको छ।

लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याएर प्रदेशको आर्थिक विकासलाई बढाउने लक्ष्य सरकारको छ।

बाह्य पर्यटकको उपस्थिती बढाएर प्रदेशको आर्थिक समृद्धि हासिल लक्ष्य राखेको प्रदेश सरकारले विश्व पर्यटन दिवसलाई लुम्बिनीको पर्यटन विकास लक्ष्य पुरा गर्ने अवसरका रुपमा मनाउने भएको छ। यसका लागि पर्यटन विकासका सबै आधारहरू पहिल्याउने र सोही अनुसार पर्यटन विकासको योजना बनाउने तयारी सरकारको छ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले विश्व पर्यटन दिवसलाई लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको प्रवर्धन लक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ। प्रदेशका पर्यटकीय क्षेत्रहरूको चिनारी गराउने र लुम्बिनीमा पर्यटकहरूको आगमन बढाउन गर्न सकिने उपायको खोज मन्त्रालयले यो कार्यक्रम मार्फत गर्ने भएको छ।

‘प्रदेशको आर्थिक समृद्धिको पहिलो आधार भनेको यहाँको पर्यटन क्षेत्र हो, प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गरेर यहाँ कसरी बाह्य पर्यटकको संख्या बढाउन सकिन्छ भन्ने बिषयमा गहन छलफलको आवश्यकता छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘पर्यटकीय क्षेत्रको विकास, यसको प्रचार प्रसार र कसरी पर्यटकहरूलाई यहाँ धेरै भन्दा धेरै भित्र्याउन सकिन्छ भन्ने बिषयमा सरोकार पक्षहरूसँग समीक्षा गर्ने छ, मूलभूतमा रुपमा प्रदेशमा पर्यटकहरूलाई कसरी बढाउन सकिन्छ भन्ने उपाय खोजी गर्दै पर्यटक बढाउने रणनीति बनाउन प्रदेशमा विश्व पर्यटन दिवस मनाइने छ।’

मन्त्री न्यौपानेका अनुसार दाङको घोराहीमा विश्व पर्यटन दिवसका अवसरमा भव्य समारोहको आयोजना गर्ने निर्णय मन्त्रालयले गरेको छ। विश्व पर्यटन दिवस असोज ११ गते हो।

घोराही स्थित खुला मैदानमा हुने समारोहमा स्थानीय चिनारीको प्रचार प्रसार समेत हुने छ। रैथाने खानाका स्टलहरुको व्यवस्था गरिने भएको छ। यि स्टलहरुमा होम स्टे तथा आमा समूहहरुले रैथाने खानाको व्यवस्थापन गर्ने छन्। यसैगरि स्थानीय कला संस्कृति झल्कने नृत्यहरु समेत समारोहमा प्रस्तुत गरिने भएको छ। यसले रैथाने खाना तथा स्थानीय संस्कृतिको प्रचार प्रसार हुने र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास मन्त्रालयले लिएको छ। यससंगै पर्यटन विकासका सन्दर्भमा समिक्षात्मक बहस समेत थालिने मन्त्रालयले जनाएको छ।

‘प्रदेशमा पर्यटकहरूको आगमन बढाउन कस्तो खालको रणनीतिक योजना बनाउने भन्ने निक्र्यौल गर्ने छ,’ मन्त्री न्यौपानेले भने ‘यसका लागि पर्यटन संग सरोकार राख्ने सबैको सहभागीतामा गहन छलफल गरिने छ।’ साथै उक्त समारोहमा दाङ सहित प्रदेशका पर्यटकीय स्थलहरूको चिनारीका लागि फोटो प्रदर्शनी समेत गर्ने छ। 

प्रकाशित: २६ भाद्र २०८१ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App