अर्थ

तेस्रो गुल्मी महोत्सव सुरु

गुल्मी – ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नारासहित गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला–२०७४ सुरु भएको छ । महोत्सवको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि विशेष कारणले शनिबार उद्घाटन भएको हो।

गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा विभिन्न सघं सस्थाहरुको सहयोगमा तम्घासको चिदीचौरमा महोत्सव सञ्चालन भइरहेको छ । गुल्मीमा लुकेर रहेका कला, कौशल, सीप र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकास गर्ने, स्थानीय कृषि तथा साना कुटिर उद्योगका उत्पादनको बजारीकरण गर्ने र ऐतिहासिक, पौराणिक, धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले केही वर्षदेखि वाणिञ्य सघंले महोत्सव अयोजना गर्दै आएको छ।

सदरमुकाम तम्घासका विभिन्न चोकबाट सुरू विभिन्न सांस्कृतिक झाँकी तथा कलश यात्रासहितको र्‍यालीले बजार परिक्रमा गरी चिदीचौरमा पुगेर औपचारिक रूपमा सुरू भएको छ । महोत्सवको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका छन् । मन्त्री ज्ञवालीले महोत्सव कृषि र पर्यटनको विकासमा सहयोगी हुने बताए । उनले गुल्मी जिल्लामा थुप्रै पर्यटकीय स्थल रहेकाले यहाँका विकासका लागि पर्यटकीय क्षेत्रहरुको विकास गर्न सके गुल्मीको विकासले फड्को मार्ने बताए।

महोत्सवलाई लक्षित गरी सदरमुकाम तम्घास बजार क्षेत्रलाई दुलहीजस्तै सिँगारिएको छ । २५ गतेसम्म सञ्चालन हुने महोत्सवस्थल विवाह घरजस्तै रंगीचंगी भएको छ । महोत्सवको मुख्यस्थल महेन्द्र माध्यमिक विद्यालयमा स्टेज र चिदीचौरमा विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेको छ।

महोत्सवका साथै कृषि पर्यटन तथा व्यापार मेलाका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गुल्मी उद्योग वाणिञ्य सघंका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति सयोजक दुर्गाप्रसाद पाण्डेले बताए । आन्तरिक र बाह्य पर्यटकमाझ गुल्मीलाई गन्तव्य स्थलको रुपमा परिचय गराउने र कृषि पर्यटनको व्यवसायीकरण एवं उद्यमशीलताका माध्यबाट गुल्मीको समग्र आर्थिक सामाजिक विकास गर्ने महोत्सवको लक्ष्य रहेको पाण्डेले बताए।

महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने विभिन्न झाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य, प्रथम रम्वा दोहोरी प्रतियोगिता, स्थानीय उत्पादनवाट निर्माण भएका वस्तु, लोपोन्मुख ढिकी जातो, कोल, कृषिजन्य पदार्थको प्रदर्शनी, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी, बालउद्यान रहनेछन्।

मेलामा फलफूल, माछा, सुन्तला, मह, घ्यू, डेरीवाट उत्पादित वस्तु, घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तेस्रो गुल्मी महोत्सवमा झन्डै १५ करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान रहेको छ भने डेढ लाख दर्शकले मेला अवलोकन गर्ने छन् । महोत्सवलाई थप प्रभावकारी बनाउन र आकर्षणका लागि हेलिकप्टरबाट जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल अवलोकन गर्न पाइने व्यवस्था समेत मिलाइएको छ।

 

प्रकाशित: १९ चैत्र २०७४ ०१:२६ सोमबार

तेस्रो गुल्मी महोत्सव सुरु