अर्थ

साउनमा एक खर्ब १५ अर्ब व्यापार घाटा

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार नभए पनि मुलुकको वैदेशिक व्यापार भने संकुचनमा गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा आयात तथा निर्यात घटेको हो । यसले मुलुकको अर्थतन्त्र अझै शिथिल रहेको संकेत गर्छ।

रेमिटेन्स आप्रवाहमा वृद्धि, विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार, सेयर बजारमा हरियालीले अर्थतन्त्रमा सकरात्मक संकेत देखिए पनि वैदेशिक व्यापारले भने आशा जगाउन सकेको छैन । यो साउन महिनामा आयात र निर्यात दुवै घटेको छ। आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। चालु आवको पहिलो महिनामा कुल वैदेशिक व्यापारमा १.५२ प्रतिशतले गिरावट आएको छ।

साउनमा एक खर्ब २८ अर्ब ३७ करोड रूपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २२ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। आयात घट्नुलाई सकारात्मक माने पनि निर्यात घट्नु अर्थतन्त्रका लागि राम्रो होइन। उपभोग क्षमतामा गिरावट र उद्योगका कच्चा पदार्थको आयातमा कमी आएको हो भने त्यसलाई पनि राम्रो मानिँदैन। स्वदेशमा उत्पादन वृद्धि भएर आयात घटेको अवस्थामा अर्थतन्त्रका लागि सकरात्मक हो तर त्यो अवस्था नभएको सरोकारावाला बताउँछन्। 

गत आवको साउनमा एक खर्ब २९ अर्ब २३ करोड रूपैयाँका वस्तु आयात भएकोमा चालु आवको साउनमा ०.६७ प्रतिशतले कमी आएको छ भने गत आवको सोही अवधिमा १३ अर्ब ५२ करोड ८७ लाख रूपैयाँको वस्तु निर्यात भएकोमा चालु आवमा ९.६३ प्रतिशतले गिरावट आएको भन्सार विभागले जनाएको छ। गत आवको पहिलो महिनामा एक खर्ब १५ अर्ब ७१ करोड रूपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको पहिलो महिनामै व्यापार घाटा एक खर्ब १६ अर्ब १५ करोड रूपैयाँ रहेको तथ्यांकले देखाउँछ।

मुलुकको कुल वैदेशिक व्यापारमा गिरावट आएको छ। गत आवको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रूपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा १.५२ प्रतिशतले कमी आई एक खर्ब ४० अर्ब ६० करोड रूपैयाँमा सीमित भएको छ। सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। भारतबाट ७७ अर्ब ६८ करोड रूपैयाँको आयात भएकोमा सात अर्ब ५७ करोड रूपैयाँका वस्तु निर्यात भएको छ । यसरी हेर्दा भारतसँग साउन महिनामा ७० अर्ब १० करोड रूपैयाँ व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ।

निर्यातमा करिब १० प्रतिशतले गिरावट हुँदा आयात–निर्यात अनुपात पनि ९.५५ प्रतिशतबाट १०.५ प्रतिशत पुगेको देखिन्छ । निर्यातको हिस्सा ९.७८ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा झरेको छ भने आयातको हिस्सा ९०.५२ प्रतिशतबाट बढेर ९१.३० प्रतिशत पुगेको देखिन्छ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । नेपाल आयल निगमले इन्धन आयात गरेर बिक्री गर्दै आएको छ । चालु आवको पहिलो एक महिना साउनमा २१ अर्ब ६६ करोड ९० लाख रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिमा २१ अर्ब ९८ करोड ४५ लाखको आयात भएको पेट्रोलियम पदार्थ आयात भएको थियो। 

पेट्रोलियम पदार्थमध्ये ६ अर्ब ९८ करोड ७२ लाख रूपैयाँको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाखको पेट्रोल र चार अर्ब ८२ करोड ६७ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको भन्सार विभागले जनाएको छ। आयातको दोस्रो स्थानमा मेसिनरी सामग्री रहेका छन् । निर्याततर्फ भने सबैभन्दा धेरै निर्यात हुनेमा कार्पेट तथा टेक्सटाइलका सामग्री रहेका छन्।

प्रकाशित: ९ भाद्र २०८१ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App