अर्थ

नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो: कांग्रेस प्रवक्ता महत

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन  । प्रवक्ता महतले खुकुलो मौद्रिक  नीति र कांग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिन सक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे ।

उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए । प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औँल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरे । 

उनले भने,‘कांग्रेस र एमालेको जुन संयुक्त सरकार बनेको छ।त्यसले पनि आम जनमानसमा एउटा विश्वास र भरोसा बढेको कारणले पनि आर्थिक गतिविधि आउने दिनमा बढ्छ भन्ने कुरामा म विश्वस्त छु । तर त्यो भनेर हामीलाई निष्क्रिय हुने छुट छैन । हामी अत्यन्त क्रियाशीलताका साथ काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ । जहाँसम्म मौद्रिक नीतिको सवाल छ । नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ । तर यो शेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ । त्यसलाई हामीले सहज रुपमा लिन सक्ने अवस्था छैन । त्यहाँ केही चलखेल गर्नेहरूका म्यानु पुलेशन गर्ने सम्भावना देखिएको छ ।’

प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्न सक्ने खतरा रहेको औँल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित: २१ श्रावण २०८१ १७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App