अर्थ

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

भेटपछि मन्त्री भण्डारीले जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीका लागि ठोस प्रयास हुने विश्वास व्यक्त गरे ।  

मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने योजनामा रहेको बताउँदै सोपछिको केही वर्षका लागि डीसीटीएस अन्तर्गतको अतिकम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेको जानकारी दिए ।  

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्नको लागि उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारको लागि समेत भेटमा अनुरोध गरेका थिए ।  

‘अन्तर आवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिवद्ध छ ।  हामी उद्योग, जलविद्युत र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं,’ मन्त्री भण्डारीले भने ।  

भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको बताएका थिए । उनले भेटमा नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै बेलायत खुला अर्थतन्त्रको पक्षपाति मुलुक भएको भन्दै नेपाल र विश्व बजारको बीचमा आफुले सेतुको भुमिका खेल्ने आश्वासन दिए ।  

प्रकाशित: ३० जेष्ठ २०८१ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App