अर्थ

जगदुल्ला जलविद्युत् आयोजना बनाउन लगानी जुट्यो

प्रस्तावित १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना बनाउन लगानी जुटेको छ। बुधबार जगदुल्ला हाइड्रोपावर कम्पनी र नबिल बैंकले नेतृत्व गरेको बैंक तथा वित्तीय संस्थाहरूबीच ऋण सम्झौता भएको हो।

जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि नबिल बैंकले नेतृत्व गरेको वित्तीय संस्थाहरूको समूहले १५ अर्ब ९० करोड रूपैयाँ लगानीबापत ऋण स्वीकृत भएको हो।

आयोजनाको कुल लागत २३ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। लगानी जुटाउन नबिल बैंकले चार अर्ब ४० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले चार अर्ब, कर्मचारी सञ्चय कोषले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड रूपैयाँ ऋण स्वीकृत भएको हो।

 आयोजना निर्माणमा सात अर्ब १० करोड रूपैयाँको इक्विटी रहनेछ। कर्णाली प्रदेशको डोल्पास्थित जगदुल्ला नदीमा बन्न लागेको यो परियोजना ‘नेपालको पानी जनताको लगानी’ भन्ने अवधारणामा बन्ने पहिलो आयोजना बनेको हो।

आगामी आर्थिक वर्षको सुरुदेखि नै आयोजना निर्माणको प्रक्रियामा जानेछ। आगामी पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी लगानी सम्झौता भएको हो।

प्रकाशित: ४ जेष्ठ २०८१ १०:०१ शुक्रबार

Jagdulla Hydroelectric Project Nabil Bank