अर्थ

पुरातात्विक सम्पदामा हानि नपुग्ने गरीविकास गर्न विज्ञको सुझाव

बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदामा हानि नपुग्ने गरी विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्। बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा युनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशालामा सहभागी विज्ञहरूले लुम्बिनी क्षेत्रका सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र युनेस्कोको आयोजनामा लुम्बिनीमा तीनदिने कार्यशाला आयोजना गरिएएको हो। लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटेलमा आइतबारदेखि मंगलबारसम्म भएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानि नपुर्‍याउने गरी विकास गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका हुन्।

युनेस्को जापानिज फन्ड इन ट्रस्टको सहकार्यमा युनस्कोद्वारा सञ्चालित परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमा विगत १४ वर्षदेखि काम गर्दै आइरहेको छ। सोही परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समिति गठन गरिएको हो। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ।

लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो। संयुक्त राष्ट्रसंघको सहयोगमा केञ्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको अनुसरण गर्दै सम्पदा संरक्षणका विशेष ध्यान दिनुपर्ने र सोहीअनुरुपका संरचना बनाउनुपर्नेमा विज्ञहरूले सुझाव दिएका हुन्।

छलफलमा विश्व सम्पदा केन्द्र युनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. रविन कनिङहम, प्रा.डा. युकियो निसिमुरा र  विज्ञ डा. काई वाइजले लुम्बिनी गुरुयोजनाको मर्मलाई अनुसरण गर्दै सम्पदा संरक्षणमा ध्यान दिन र सोहीअनुरुपका संरचना बनाउनुपर्ने सुझाव दिए।

कार्यशाला समापन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले  अन्र्तराष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै अगाडि बढ्ने बताए।  बुद्धजन्मस्थल लुम्बिनी विश्वभरका एक अर्ब बढी मानिसको आस्थाको केन्द्र समेत भएकाले त्यसलाई पनि मध्यनजर गरी अगाडि बढ्नुपर्ने बताए। उनले लुम्बिनी जस्तै पुरातात्विक स्थलहरू अन्य देशमा पनि रहेकाले त्यहाँ जसरी नै यहाँ पनि तीर्थलुहरूका लागि न्यूनतम सुविधा दिने विषयमा छलफल गर्नुपर्नेमा जोड दिए।

पुरातत्व विभागका महानिर्देशक शोभाग्य प्रधानाङ्ग, विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातत्वविद् वसन्त विडारी, लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, युनेस्को परियोजना संयोजक नभा बस्न्यात थापा, कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, कोषका योजना प्रमुख स्मिता भट्ट,लगायतले प्रस्तुति राखेका थिए।

तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेका गतिविधि र सम्पदाको दिगो संरक्षण र भावी योजनाका बारेमा छलफल गरी सुझाव दिइएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए।

प्रकाशित: ७ चैत्र २०८० १२:५३ बुधबार

बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक सम्पदा ऐतिहासिक सांस्कृतिक संरक्षण विकास पर्यटन प्रवद्र्धन