अर्थ

रसुवागढी नाकामा मंगलबारबाट कारोबार सुरु

चीनको केरुङबाट सामग्री बोकेर नेपाल आएको कन्टेनर दुई देशको मितेरी पुल पार गर्दै । तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि पुनः कारोबार सुरु भएको छ । कारोबार सुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन्।

चीनको केरुङबाट स्याउ र लसुन बोकेका ८० वटा कन्टेनर नेपाल भित्रिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका गुल्मपति प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताए । ल्होसारको कारण फागुन १ देखि २१ गतेसम्म नाकामा कारोबार ठप्प भएको थियो।

चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द भएपछि कारोबारमा कमी आएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । ‘ल्होसारको कारण चीनबाट नेपालमा आयात हुने रेडिमेड गार्मेन्ट र इलेक्ट्रोनिक सामग्री आयात २१ दिनसम्म रोकिएको थियो,’ प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले भने, ‘मंगलबारदेखि सामग्री आयात पुनः सुरु भएको छ ।’लामो समयसम्म नाकामा कारोबार नहुँदा लक्ष्य अनुसारको राजस्व संकलन गर्न कठिन हुने उनले बताए । ‘२१ दिनमा १७ करोड राजस्व उठेको छ,’ प्रमुख भन्सार अधिकृत कोइरलाले भने, ‘लक्ष्य अनुसार राजस्व उठ्ने सम्भावना बढेको छ।’

फागुनमा २९ करोड राजस्व उठाउने लक्ष्य राखिएको छ । कारोबार ठप्प भए पनि दुवैतिरका भन्सार भने नियमित सञ्चालन भएका थिए ।चीनको केरुङस्थित पाङसिङमा चार सयभन्दा बढी कन्टेनर रोकिएका नेपाली व्यापारी पुरुषोत्तम पौडेलले बताए । चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका उपकरण, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ।

त्यसैगरी, नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कार्यालयले साउनदेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजस्व संकलन गरेको जनाएको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ।

 

 

 

प्रकाशित: २३ फाल्गुन २०७४ ००:५७ बुधबार

रसुवागढी नाकामा मंगलबारबाट कारोबार सुरु