अर्थ

मुलुकको समृद्धि मेरो मिसन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश समृद्ध बनाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग शनिबार सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो लक्ष्य मुलुकको समृद्धि भएको बताए।

‘मेरो ५ वर्षे कार्यकालको प्रमुख लक्ष्य र अभियान भनेकै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउने हो, महासंघ जस्तो निजी क्षेत्रको संशक्त प्रतिनिधिमुलक संस्था र नेतृत्वनै मेरो कार्यक्रमलाई सफल पार्ने उर्जा हो, इन्जिन हो,’ उनले भने– ‘निजी क्षेत्रले अबको आर्थिक विकासको नेतृत्वदायी भूमिका लिन तयार हुनुपर्छ।’

ओलीले मुलुकभित्र उद्योग व्यवसाय विस्तार गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक वातावरण बनाउने काममा आजैबाट लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै भने– ‘मैले के गर्नुपर्छ ठोस सुझाव ल्याउनुहोस, मुलुकको समृद्धिका लागि तपाईहरुले ल्याउने जुनसुकै कार्यक्रममा सहयोग गर्न म तयार छु।’ 

प्रधानमन्त्री ओलीले अब कुनै प्रकारको श्रम समस्या नआउने र औद्योगिक व्यवसायिक वातावरण सुमधुर बन्ने सुनिश्चितता समेत दिलाए। आर्थिक विकासका लागि महासंघका सुझावलाई सरकारका आगामी कार्यक्रममा राख्ने विश्वास दिलाउँदै महासंघसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई थियो।

भेटमा महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक विकासका कार्यक्रम ल्याउन आग्रह गरेकी थिइन्। अध्यक्ष राणाले मुलुक राजनीतिक रुपमा पूर्णत नयाँ संरचनामा रूपान्तरण भएकाले प्राप्त उपलव्धीलाई संस्थागत गर्दै अव जनताका मुहार उज्यालो बनाउने अभियानमा सरकार लाग्नु पर्ने सुझाव राखिन। 

अबको अभियान भनेको आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष राणाले प्रधानमन्त्रीले त्यसको सफल नेतृत्व लिने विश्वास निजी क्षेत्रलाई भएको र सरकारको आर्थिक विकासको कार्यक्रममा निजी क्षेत्रले पूर्णत सहयोग गर्ने विश्वास दिलाइन्। प्रधानमन्त्री समक्ष अध्यक्ष राणाले अवको एक दशकलाई समृद्ध नेपाल निर्माण दशक घोषणा गर्न समेत माग गरिन। 

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, सदस्य संघ/संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको महासंघको प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष राणाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै मुलुकलाई अब आर्थिक समृद्धितर्फ अगाडी बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७४ १३:५१ शनिबार

मुलुकको समृद्धि मेरो मिसन प्रधानमन्त्री ओली