अर्थ

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

काठमाडौं –म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत आयोजनाका लागि ऋण लगानि जुटेको छ। धौलागिरी कालिका हाइड्रो लिमिटेडले बनाउने उक्त आयोजनाका लागि ३ अर्व रुपैयाँभन्दा बढी ऋण लगानी गर्न आधा दर्जन बैंक तथा वित्तिय संस्था तयार भएका छन्।

शनिबार बित्तिय संस्थाको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेड र धौलागिरी कालिकाबीच ऋण लगानी गर्ने सम्झौता भएको छ। आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेन्चुरी बैक तथा मुक्तिनाथ विकास र महालक्ष्मी विकास बैंकको लगानी रहने धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरले बताए।

उनका अनुसार ५ अर्व १४ करोड रुपैयाँ लगानी उक्त आयोजना निर्माण हुने छ। ऋणबाहेक बाँकी रकम स्वपूँजीबाट संकलन गरिने उनले जनाए। ३० प्रतिशत सर्वसाधारणका लागि सेयर जारी गरिने उनले बताए।

मालिका गाउँपालिका दरबाङमा आयोजना बन्न लागेको हो। तीन वर्ष भित्र निर्माण कार्य सक्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ। कुँवरका अनुसार पाँच किलोमिटर सुरुङ निर्माण गरी २ सय मिटर लामो पेनस्टक पाइपबाट म्यादी खोला छिराई विद्युत उत्पादन गरिने जनाए। पानीको बहाव ३१.४ घनमिटर प्रतिसेकेन्ड रहने आयोजनाको कुल हेड १ सय ४ मिटर रहेको उनले जनाए। आयोजनाबाट उत्पादित बिद्युत आठ किमि लामो १ सय ३२ केभि क्षमताको ट्रान्समिसनलाइन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिने कुँवरले जानकारी दिए।

गैरआवासीय नेपाली संघ हङकङ, काठमाडौं म्याग्दी इनभेस्टमेन्ट कम्पनी र ग्लोबल फ्रेन्डसिप लिमिटेड आयोजनाको मुख्य प्रवर्धक रहेका छन्। कुवँर गैरआवासीय नेपाली संघ, एशिया प्रशान्त उपसंयोजक पनि हुन्। ‘देश विकासमा गैरआवासीय नेपालीले योगदान दिएको उदाहरणको रुपमा यो परियोजनालाई अगाडि बढाइन थालिएको उनले बताए।

 

प्रकाशित: ६ फाल्गुन २०७४ १३:०१ आइतबार

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो