अर्थ

नयाँ सरकारप्रति व्यवसायीको आशा

काठमाडौं – नेपाल उद्योग परिसंघले मुलुकले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारले आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्यबनाउने अपेक्षा लिएको बताएको छ ।

परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै देशले गर्नुपर्ने सम्पूर्ण राजनैतिक परिवर्तनहरु सम्पन्न गरी बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्य बनाउने अपेक्षा लिएको बताएको हो ।
‘नेपालको राजनीतिक पुनर्संरचनालाई संस्थागत गर्दै तीनवटै तहको निर्वाचन सम्पन्न भई स्थानीय तहमा सरकार गठन भई कार्य सम्पादन सुरु भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ,’नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात गरी आर्थिक समृद्धिको एजेन्डालाई नै प्राथमिकतामा राख्ने छ भन्ने विश्वास परिसंघले लिएको छ ।’

परिसंघका अनुसार नेपालले २०१३ सालदेखिनै योजनाबद्ध आर्थिक विकासको थालनी गरेपनि मुलुक अझै अतिकम् विकसित राष्ट्रहरुकै समूहमा रहेको छ । गरिबी, बेरोजगारी, न्यूनआर्थिक वृद्धिदर, उच्चमुद्रास्फीति, कहालीलाग्दो व्यापार घाटा, कमजोर पूर्वाधारको अवस्था र पुँजीगत खर्चको घट्दो क्रमले अर्थव्यवस्थामा संरचनात्मक समस्या देखा पर्दै गएका छन् ।

यी समस्यालाई सम्बोधन गर्दै नयाँसरकारले औद्योगिक लगानी प्रवद्र्धनका साथै रोजगारी सिर्जनामा सुनिश्चित वातावरण कायम गरी मुलुकमा औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूति दिने विश्वास परिसंघको छ । विज्ञप्तिमा विकासको बाटोमा मुलुकलाई लग्न विकासको मार्ग चित्रकोर्न सरकारसँग निजी क्षेत्र सहकार्य गर्न उत्सुक रहेको बताइएको छ ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:३३ शुक्रबार

सरकारप्रति व्यवसायीको आशा