अर्थ

दक्षिण एशियाको व्यापार बारे दुई दिने अन्तर्राष्ट्रिय सम्मलेन सुरु

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा काठमाडौंमा आजबाट दुई दिने ‘डब्लुसिपी नेपाल– एआइबी साउथ एशिया कन्फ्रेन्स, २०२४’ आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।

विश्वव्यापारमा दक्षिण एशियाको प्रतिस्पर्धीपन, आपूर्ति श्रृङ्खला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एशियाःकम्पिटेटिभनेस, भ्यालु चेन एण्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो। 

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरक खालेको बाणिज्य नीति अवल्बन गरिनुपर्ने आवश्यकता औल्याए। नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषण सहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने वाग्लेले बताए।

स्थानीय स्तरको उत्पादन प्रवर्द्धनमा नवप्रवर्तन तथा बौद्धिक अधिकारकोअधिकतमप्रयोगमा रघुनाथले जोड दिए। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रुपमा अगाडी बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताहरुबाट आउने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने बताए।

नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नती पछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिक रुपमा काम गरिरहेको उनले बताए। दीगो विकास लक्ष्य प्राप्तिका लागि आन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनु पर्ने उनको जोड छ।

संयुक्त राष्ट्रसंघको जेनेभा स्थित स्थायी नियोगका लागि नेपाली राजदुत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इन्जिन रहेको उल्लेख गर्दै उनले दक्षिण एशिया विश्व बजारको ठूलो हिस्सा रहेको बताए। दक्षिण एशियाका नेपाल र बंगलादेश अतिकम विकसित मुलुकबाट सँग सँगै स्तरोन्नती भइरहेकोमा स्तरोन्नती पछि पनि व्यापारका क्षेत्रमा अहिले पाइरहेका शून्य भन्सार लगायत सुविधा (ड्युटी फ्रि, कोटा फ्रि) को निरन्तरताका लागि संयुक्त राष्ट्र संघमा विभिन्न तहको छलफल भइरहेको बताए।

काठमाडौं विश्वविद्यालका उपकुलपति प्रोफेसर डा। भोला थापाले क्षेत्रीयस्तर र विश्व बजारमा समेत व्यापारका आयामहरु परिवर्तन भइरहेको र त्यसले नेपाल जस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढि प्रभावित भइरहेको उल्लेख गरे।

एसोसिएसन अफ इन्डियन युनिभर्सिटीजको महासचिव डा। पंकज मित्तलले शैक्षक अध्ययनका विभिन्न कार्यक्रमका माध्यामबाट अन्तरदेशीय आवद्धता कायम गर्न सकिने बताए। कन्फ्रेन्समा विभिन्न ७ देशबाट ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वहरुको सहभागीता रहेको छ। दुई दिने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन्।

प्रकाशित: २२ पुस २०८० १२:४२ आइतबार

विश्व व्यापार सङ्गठन (डब्लुटिओ)