गाउँभरि बगैँचा। बोटभरि लटरम्म सुन्तला, जता हेर्यो, उतै पहेँलपुर। बोटले फल धान्न नसकेर कोही हाँगा भाँचिएका छन् त। कोहीमा टेकोले अडाइएको छ। मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङ बजारबाट माथि लागेपछि पाखै भरी पहेँलपुर दृश्य देख्न सकिन्छ।
यहाँ २०४० को दशकदेखि नै व्यवसायीक रुपमा सुन्तला खेती हुँदै आएको छ। इच्छाकामना गाउँपालिका– स्थित माझगाउँका किसान पूर्ण बहादुर गुरुङ सुन्तला बेच्न ग्राहक खोजिरहेका छन्। ५२ वर्षीय गुरुङले २०४६ सालमा कुरिन्टार र गोरखाबाट बिरुवा लिएर सुन्तला लगाउन सुरु गरेका थिए। अहिले उनको दश कट्ठाभन्दा बढी जमिनमा सुन्तला छन्। यी बोटबाट साढे पाँच लाख आम्दानी हुने उनको लक्ष्य छ।
‘गत बर्ष साढे चार लाख भएको थियो । गत वर्षभन्दा राम्रो छ यस बर्ष साढे पाँच लाख जति आम्दानी होला’–उनले भने। उनले पुराना र मर्दै गएको बोटको ठाउँमा नयाँ बिरुवा लगाउने योजना बनाएका छन्।
यहाँका किसानलाई बजारीकरणको जोखिम छैन। हरेक वर्ष व्यापारी आफैँले बारीमा फलेको सुन्तला हेरेर खरिद गर्ने गरेका छन्। तर, मूल्यमा भइरहने फेरबदलले गर्दा कुनै वर्ष राम्रो मूल्य पाउने भए पनि कुनै वर्ष सोचेजस्तो मूल्य नपाउँदा त्यसबाट किसान मर्कामा पर्ने गरेको माझगाउँका अगुवा किसान गम्कुमारी गुरूङ बताउँछिन्। ४२ वर्षीय गुरुङले अन्य खेती खेतीपाती लगाउन भन्दा धेरै राम्रो आम्दानी भएको सुनाउँछिन्। ‘मेरो साढे तीन सय जति बोट होला। कोदो मकै लगाउँदा त्यति राम्रो कमाई हुने थिएन,’ उनले भनिन् ‘अहिले वार्षिक चार लाख भन्दा बढीको सुन्तला बेच्छौँ।’
चितवनको इच्छाकामनाको सबैजसो वडामा सुन्तला खेती हुन्छ। तर, चितवनमा सुन्तला उत्पादन भएपनि मुग्लिन झरेपछि मनकामनाको सुन्तला भनेर बिक्री हुने हुँदा चितवनको उत्पादनको पहिचान नै गुमेको सिताराम गुरुङ बताउँछन्।
इच्छाकामनाको तीन नम्बर वडाको माझगाउँ, तोक्दाङ, सिरानगाउँ, ढाप, तल्लो डुँढे, माथिल्लो डुँढेलगायतका क्षेत्रमा सुन्तला उत्पादन राम्रो हुने गरेको छ। यस्तै वडा नम्बर एक, दुई, तीन, पाँच र छ नम्बर वडामा पनि सुन्तला राम्रो उत्पादन हुने गरेका वडा नम्बर तीनका वडाध्यक्ष नरबहादुर नेपाल बताउँछन्।
इच्छाकामना गाउँपालिकाले माझगाउँ क्षेत्रलाई समेटेर सुन्तला पकेट क्षेत्र बनाउने निर्णय गरेको छ। गाउँपालिकामा ६० बिगाहा क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। व्यवसायीक रुपमा खेती गर्ने किसान चार सयको हाराहारीमा रहेका छन्। यहाँका किसानले वार्षिक पाँचदेखि १० करोड रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए। सुन्तलाको बजारीकरण र उत्पादन वृद्धिका लागि गाउँपालिकाले महोत्सवको आयोजना नै गरेको उनले बताए। ‘हामी सुन्तला उत्पादनमा वृद्धि गर्न प्रवर्द्धनात्मक काम गरेका छौँ । यसबर्ष महोत्सव नै आयोजना गरेका छौँ, यहाँ विज्ञलाई बोलाएर रोगको निदानका विषयमा समेत किसानलाई जानकारी दिँदै छौँ’ उनले भने।
चितवनमा उत्पादन भएको सुन्तला चितवनकै बजार पुग्दा अर्कै ठाउँको सुन्तलाको नाममा बिक्री हुँदै आएकोले चितवनको सुन्तलालाई पहिचान दिलाउन पनि महोत्सवले विशेष अर्थ राख्ने गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले बताए। ‘कम से कम यहाँ उत्पादन भएको सुन्तलाले इच्छाकामना गाउँपालिकाको मात्रै होइन, समग्र जिल्लाकै पहिचान स्थापित गर्छ’, उनले भने, ‘त्यसैले आगामी वर्षहरूमा निरन्तर महोत्सव सञ्चालन गर्ने गरी यसपालि पहिलो पटक सुन्तला महोत्सव आयोजना गरेका हौँ।’
गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव सुरु गरिएको हो। सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन कृषि मन्त्री बेदुराम भुसालले गरे।
महोत्सवको उद्घाटन गर्दै मन्त्री भूषालले सुन्तलालाई राष्ट्रिय फलको रुपमा प्रस्ताव गरेका छन्। नेपालको सुन्तला चीनमा बिक्री गर्ने योजना समेत रहेको बताए। ‘बिक्रीको चिन्ता नगर्न अनुरोध छ। हामीले चीनसँग सम्झौता गरेका छौँ, उनले भने यो साल चीनमा निर्यात गर्न नसकिएला। हामी भन्सारको प्रक्रियाकै क्रममा छौँ । अर्को सिजनमा पठाउन सक्छौँ।’
उनले इच्छाकामनाको सुन्तलाको प्रचार हुन नसकेको समेत बताए। ‘राजमार्गमा हिड्दाखेरी धेरै ठाउँमा मनकामनाको सुन्तला भनेर किनेर खान्थ्यौँ। यहाँ आएर हेरेपछि के लाग्यो भने त्यो सुन्तला यहाँको (इच्छाकामाना) पनि रहेछ,’ उनले भने ‘इच्छाकामनाको सुन्तलालाई ब्राण्डिङ गर्नुप¥यो।’ उनले चितवनको सुन्तला काठमाण्डौँमा पनि लैजान सकिने बताए। नेपालमा उत्पादन भएको अवस्थामा बाहिरी मुलुकबाट हुने आयातलाई रोक्ने उनले आश्वासन दिए।
प्रकाशित: १७ पुस २०८० ११:०८ मंगलबार