अर्थ

यातायात व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्छ : उपराष्ट्रपति

चितवन, काठमाडौं – उपराष्ट्रपति नन्दकिशोर पुनले यातायात व्यवसायलाई उद्योगसरह राज्यले मान्यता दिनुपर्ने बताएका छन् ।

 

बुधबार चितवनान सुरू भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं महाधिवेशन उद्घाटन सत्रमा उपराष्ट्रपतिले यातायात व्यवसायलाई उल्लेख्य सुधार गर्नुपर्ने धारणा राखेका छन् । सार्वजनिक यातायात क्षेत्र पनि जनतामुखी हुनुपर्ने उनले सुझाव दिए । उनले भने, ‘निजी सवारी साधन छाडेर सार्वजनिक सवारी साधन प्रयोग गर्नुपर्ने दिन ल्याउन राज्य र यातायात व्यवसायी दुवै पक्षले गम्भीर हुनुपर्छ ।’ यातायात क्षेत्रमा देखिएका अप्ठयारा हटाउन सरकारले नीतिमा पनि परिर्वतन ल्याउनुपर्ने उनले सुझाव राखे।

उद्घघाटन कार्यक्रममा निर्माण तथा यातायात राज्यमन्त्री सीता गुरूङ तथा विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना दिएका थिए । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता मुकुन्द न्यौपाने, माओवादी केन्द्रका नेता लेखराज भट्टले यातायात व्यवसायमा देखिएका समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका थिए । मुलुकमा गुणस्तरीय सडक निर्माण नहुनुले यातायात व्यवसायी मात्र होइन, सर्वसाधारण  पनि मर्कामा पर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा देशभरबाट झन्डै दुई हजार प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनले नेपाल यातायात व्यवसायी राष्ट्रिय  महासंघको नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ । नयाँ नेतृत्वको लागि शुक्रबार मतदान हुने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

 

 

 

प्रकाशित: १८ माघ २०७४ ०१:२० बिहीबार

यातायात व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्छ उपराष्ट्रपति