अर्थ

बार्षिक १५ करोडको खाद्यान्न खरिद

भीमदत्तनगर – नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि बार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ। 

प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । ५ वटै जिल्लाका विभिन्न स्थानमा खाद्य डिपो सञ्चालनमा ल्याएर खाद्यान्नको अभाव टारिरहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख गंगादत्त पन्तले बताए। 

उहाँले भने,“सदमुकाममा शाखा कार्यालय भएका जिल्लामा सहज रुपमा चामल र गहुँ खरिद बिक्री भइरहेको छ,डिपोहरुमा ठेकेदारमार्फत खाद्यान्न पु¥याएर स्थानीय निकायको रोहबरमा बिक्री वितरण गर्नुपर्ने बाध्यता छ।”

चालू आर्थिक वर्षका लागि पहाडी जिल्लाका लागि करिब ५२ हजार क्विन्टन खाद्यान्नको ब्यवस्था गरेको छ । “सबै जिल्लाका डिपोमा गरेर २१ हजार क्विन्टल खाद्यान्न अहिलेसम्म पठाइसकेका छौं ।” पन्तले भने,

खाद्य संस्थानले बाजुरा सदरमुकाम मार्तडीमा शाखा कार्यालयका साथै, कोल्टी र उत्तरी भेगमा रहेको कबाडी डिपोबाट खाद्यान्न बिक्री वितरण गरिरहेको छ।

बझाङमा चैनपुर, तलकोट र बिसौनाबाट सर्वसाधारणलाई खाद्यान्न वितरण हुने गरेको छ । दार्चुलामा पारिबगर, खण्डेश्वरी र सुनसेरास्थित खाद्य डिपोबाट खाद्यान्न बिक्री वितरण हुने गरेको खाद्य संस्थानले जनाएको छ । बैतडीमा पुच्यौडीहाट, मेलौली र कुलाउ डिपोबाट वार्षिक १० हजारभन्दा बढी क्विन्टल खाद्यान्न बिक्री वितरण हुने गरेको छ । अछाममा मंगलसेन शाखाका साथै कमलबजार र विनायक डिपोबाट खाद्यान्न वितरण हुने गरेको संस्थानले जनाएको छ। 

खाद्य संस्थानले दार्चुला र बैतडीमा ६–६ हजार क्विन्टल, अछाममा २ हजार ५०० क्विटल चामल र गहुँ पठाउने तयारी गरिरहेको छ।  

द्वन्द्वकालमा बाजुराबाहेक सबै जिल्लामा खाद्यान्न बिक्री वितरण प्रभावित थियो । खाद्यान्न वितरण व्यवस्थित बनाउन कर्मचारी खटाउने काम भइरहेको पन्त बताउनुुहुन्छ । समयमै ठेकेदार कम्पनीमार्फत खाद्यान्न पु¥याइरहेकाले खाद्यान्न समस्याको गुनासो नआएको उनको भनाइ छ।  (रासस)

प्रकाशित: १६ माघ २०७४ ०७:५८ मंगलबार

बार्षिक १५ करोडको खाद्यान्न खरिद