अर्थ

निकासी नहुँदा करोडौको अदुवा थन्कियो

तेह्रथुम – जिल्लाका किसानहरुले उत्पादन गरेको करोडौको अदुवा समयमै निकासी नहुँदा  थन्किएको छ। किसानहरुले उत्पादन गरेको अदुवा निकासी नहुँदा ब्यापारीले गोदाममा र किसानहरुको बारीमै थन्किएको हो।

अदुवा किन्ने ब्यापारीहरुले किसानबाट किनेको अदुवा भारत निकासी नहुदा करोडौको अदुवा थन्काएर राखेको सिंहबाहीनी अलैची अदुवा तथा जडीबुटी संकलन केन्द्रका प्रमुख अमृत निङलेखुले बताए। उनका अनुसार एक साता यता मात्र अदुवा निकासी नहुँदा जिल्लामा करोडौको अदुवा गोदाममा थन्काएर राखेका छन्। किसानले अदुवा लिनका लागि दैनिक सम्पर्क गर्ने गरेपनि यसअघि संकलन गरेको अदुवा ब्रिकी नभएपछि हैरानी भएको अदुवा ब्यापारी तथा केन्द्रका प्रमुख निङलेखुले बताए।

ब्यापारीहरुले किसानबाट संकलन गरेको अदुवा गोदाममा नआटेपछि खुल्ला सडकमा समेत राखेका छन्। किसानहरुले भने मूल्य पाउने आशमा बारीबाट निकालेको अदुवा भण्डारण गर्ने स्थल नहुँदा अदुवा कुहिने गरेको बताएका छन्। जिल्लामा किसानसंग मात्र अन्य ब्यापारीसंग समेत  आधुनिक भण्डारणको सुबिधा नहुँदा २० प्रतिशत अदुवा खेर जाने गरेको ब्यापारीहरुले बताएका छन्। कमसल जातको ब्यापारको रुपमा लिईने अदुवा समयमै बिक्री गर्न नसके गोदाममै उम्रिने र कुहिने समस्या आउने बताइएको छ।

जिल्लाको ४ गाउँपालिका मध्ये सबैभन्दा बढी फेदाप गाउँपालिकामा अदुवा उत्पादन हुने गरेको छ। अदुवाले केही बर्षयता राम्रो मुल्य नपाउँदा किसानहरु अदुवा खेतीको विकल्प समेत खोज्न थालेको जलजलेका अदुवा कृषक तुलसी काइरालाले बताए। उनका अनुसार गाउँमा अदुवालाई ब्यबसायिक रुपमा उत्पादन गर्नका लागि जलजलेमा गठित शिबजी अदुवा कृषक समूह नै गठन गरेर अहिले गाउमा अदुवा उत्पादन गर्ने गरेपनि सोचेजस्तो आमदानी लिन नसकेको गुनासो गरे।

बजारमा अहिले अदुवा प्रतिकेजी १८ देखि २० रुपैयामा किनबेच हुने गरेको छ। तेह्रथुममा यसवर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ। यसवर्ष जिल्लामा २ सय ६० हेक्टर जमिनमा भएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जुन गतवर्ष भन्दा ६ सय ६६ मेट्रिक टन बढी हो। गतवर्ष ३ हजार २ सय ८६ मेट्रिक टन मात्रै उत्पादन भएको थियो।

अदुवाका लागि मुख्य बजार भारत भएपनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा परेका छन्। अदुवा उत्पादन बढ्दा मुल्य कम हुने र कम उत्पादन हुँदा मुल्य बढ्ने समस्याले अदुवा किसानहरुलाई हैरानी हुने गरेको किसानहरुले बताएका छन्। उनीहरुले अब स्थानीय निकायले कृषकद्धारा उत्पादित कृषिजन्य बस्तुको मुल्य निर्धारण गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित: ३ माघ २०७४ १५:४१ बुधबार

निकासी नहुँदा करोडौको अदुवा थन्कियो