अर्थ

चिसोले पोखरीमा माछा मर्न थाल्यो

सर्लाही – अत्याधिक चिसो बढेपछि पोखरीमा पालिएका माछा मर्न थालेका छन्। माछा मर्न सुरु भएसँगै व्यवसायिक रुपमा माछापालन गर्ने किसान मर्कामा परेका छन। केही दिनयता आफूले पोखरीमा पालेको १५ टनभन्दा बढी माछा मरेको सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीका माछा किसानअफजल हुसैनले गुनासो गरे।

‘चिसो एकदम बढेको छ, जमिनमुनीको पानीमा समेत तापक्रम घटेकाले जति नयाँ पानी हाल्दा पनि माछा मर्न छाडेको छैन’, उनले भने, ‘विगत वर्षहरुमा जमिनमुनीको पानी २६ डिग्रीसम्म हुनेगरेकामा यसवर्ष २० डिग्रीसम्म झरेको छ।’ दैनिक तापक्रम नाप्ने क्रममा पोखरीमा खन्याईसकेको पानी कुनै दिन त १३ डिग्रीसम्म झरेको उनले जानकारी दिए।

हुसैनले पालन गरेको स्थानीय भाषामा बचुवा भनिने पांगासियस जातको माछा मरेको हो। पांगासियस जातको माछा चिसो निकै बढेपछि मर्न सुरु गर्ने माछा विकास निर्देशनालय बालाजुमा कार्यरत वरिष्ठ कृषिविकास अधिकृत युगलकिशोर तिवारीले बताए। ‘यो माछा अन्य लोकल जातकोजस्तो चिसो थेग्न सक्ने क्षमताको हुँदैन’, उनले भने, ‘पांगासियस ब्रोइलर कुखुरा जस्तै हो।’

साँढे १० बिगाह क्षेत्रफलमा १८ वटा पोखरी मार्फत माछापालन व्यवसाय गरिरहेका हुसैनले उत्कृष्ट माछापालन व्यवसाय गरेको भन्दै गत साउनमा मात्र २ लाख नगदसहित राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार पाएका थिए । उनले भने, ‘९ वटा पोखरीमा १०० टन जति माछा थियो, यस्तै चिसो कायम रह्यो भने सबै मर्लान जस्तो छ।’ अन्य ९ वटा पोखरीमा भने लोकल जातका माछा रहेकाले नमरेको उनले जानकारी दिए।

५ सय हेक्टर हाराहारी क्षेत्रफलमा माछापालन व्यवसाय हुने सर्लाहीमा बचुवाजातको माछापालन गर्ने ठूला किसान हुसैन मात्र हुन्। जिल्लामा बढीजसो रौं, बुहारी, विजड, सिल्वर, ग्राँसकार्ड, कमलकाँठ लगायतलोकल माछापालन हुने गरेको कृषिविकास कार्यालयले जनाएको छ।

प्रकाशित: १ माघ २०७४ १४:०२ सोमबार

चिसोले पोखरीमा मर्न थाल्यो