अर्थ

थरि थरिको मूल्यबाट ठगिँदै उखु किसान

रौतहट–खेतमा उखु तयार भइसकेपछि बेच्नुपर्ने बाध्यतामा रहेका उखु किसान चारैतिरबाट ठगीमा परेका  छन् । सरकारले उखुको मूल्य नतोकेपछि अनेक मूल्यबाट उखु किसान ठगिँदै आएका छन् । अहिले उखु बेचिरहेका किसानले पाउने मूल्यमा समानता नहुँदा किसान ठगिएका हुन् ।
गत आर्थिक वर्षमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ र सरकारको समन्वयमा उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३० रुपैयाँ २० पैसा निर्धारण गरिएकामा निर्वाचन सम्पन्न भएको र नयाँ सरकार गठन भइनसकेकाले गत वर्षकै मूल्यमा देशभरका चिनी उद्योगले उखु किन्ने सहमति भएको थियो । तर बारा जिल्लाको मामकौरमा रहेको रिलायन्स सुगर मिल्सले प्रतिक्विन्टल ५० रुपैयाँ घटीमा उखु किनिरहेको पाइएको छ ।
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा उखु किन्ने काँटा स्थापना गरेर उद्योगले प्रतिक्विन्टल चार सय ८० रुपैयाँमा उखु किनिरहेका छन् । काँटामा उखु लैजाने किसानको उखु तौल गरेपछि तत्कालै हातैमा चार सय ८० रुपैयाँका दरले नगद दिइरहेको रिलायन्सले किसानलाई ठगी गरेको आरोप स्थानीयले लगाएका छन् ।
सुन्दरपुरमै एक दर्जनभन्दा बढी खाँडसारी सञ्चालनमा रहेको छ । गत असोज महिनादेखि नै सञ्चालनमा रहेका खाँडसारी उद्योगले प्रतिक्विन्टल चार सय ६० रुपैयाँमा उखु खरिद गरिरहेका छन् । अहिलेसम्म घटीमा ५० हजार क्विन्टल उखु खाँडसारी उद्योगले क्रसिङ गरिसकेका छन् । प्रतिक्विन्टल साढे तीन सय रुपैयाँदेखि उखु किन्न सुरु गरेका खाँडसारी उद्योगले चिनी उद्योग सञ्चालनमा आउने भएपछि मूल्यमा बिस्तारै वृद्धि गर्न थालेका छन् ।
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको रकम भुक्तानी गर्न सधैं आनाकानी गर्ने गरेकाले जताबाट नगद प्राप्त हुन्छ किसान उखु बेच्न हतारिएका हुन् । गरुडास्थित चिनी उद्योग सञ्चालनको तयारी भइरहेको र बाराको उद्योग सञ्चालनमा आइसकेकाले नगद पाइरहँदा प्रतिक्विन्टल ५० रुपैयाँ घाटा लागेको भएपनि किसान उखु बेच्न आतुर रहेको समनपुरका किसान कामेश्वर सहनीले बताए । आफूले पाँच बिघा खेतमा उखु रोपेको र तत्कालै नगद हातमा पर्न थालेपछि बाराको रिलायन्स चिनी उद्योगलाई केही सस्तोमा नै भएपनि उखु बेचिरहेको सहनीको भनाइ छ ।
गरुडाको चिनी उद्योगले गत दुई वर्षको करिब २२ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । गरुडाको उद्योग सञ्चालनमा आएपनि बेचेको उखुको मूल्य उद्योगले भुक्तानी गर्ला कि नगर्ला भन्ने आशंका कायम रहेको अवस्थामा जिल्लाका अधिकांश किसान नगद रुपैयाँ दिने खाँडसारी तथा अन्य जिल्लाको चिनी उद्योगतिर आकर्षित हुन थालेको संग्रामपुरका किसान उद्धव मिश्रको भनाइ छ ।
जिल्लामा २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष नगद नै हात पारेपछि किसानले उखु खेती बढाएका छन् । जिल्लाबाहिरका उद्योगले नगद दिन थालेपछि किसानलाई पनि राम्रै फाइदा हुने देखिएको  छ । प्रतिकट्ठा चार हजार रुपैयाँसम्म उखु उत्पादनमा किसानको खर्च हुन आउँछ तर उखुबाली राम्रोसँग फस्टाउँदा १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको किसानको भनाइ छ । तर उद्योगले समयमा रकम नदिँदा चौतर्फी मारमा किसान पर्ने गरेका छन् ।
गत दुई वर्षको करिब २२ करोड रुपैयाँ बाँकी रहेकामा तत्काल भुक्तानीको माग गर्दै सहमति अनुसार उद्योग सञ्चालनमा ल्याउन आफूहरुले दबाब दिएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताए । समयमा चिनी उद्योग सञ्चालनमा नआउँदा खेतमै उखु बिग्रिन थालेको र खुँटी उखुमा किसानलाई अहिले नै १० प्रतिशतसम्म मार परिसकेको संघका कोषाध्यक्ष मनोजकुमार सहनीको भनाइ छ ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:४९ शुक्रबार

थरि थरिको मूल्यबाट ठगिँदै उखु किसान