अर्थ

रुपन्देहीलाई पोखराको निम्तो

रुपन्देहीको मणिग्राममा रेवान पोखराले सडक महोत्सवबारे आयोजित पत्रकार सम्मेलनमा सहभागी ।

भैरहवा–रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गर्न लागेको सडक महोत्सवमा सहभागी भई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गरेको छ । रेवानले विगत १८ वर्षदेखि आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पुस १३ देखि १७ गतेसम्म पोखराको शहिद चोकमा हुँदैछ ।  
महोत्सवको निम्ता बाड्न बुधबार रुपन्देही आइपुगेको आयोजक रेवान पोखराले नयाँ वर्षको अवसरमा पोखराको सडक महोत्सवमा सहभागी भई देश विदेशका परिकारको स्वादसँगै प्राकृतिक सुन्दरता र सांस्कृतिक रोमाञ्चकतामा रमाउन रुपन्देहीवासीलाई आग्रह गरेको हो । 
मणिग्राममा आयोजित कार्यक्रममा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पाँच दिनसम्म सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वादसँगै देशका सातवटै प्रदेशका लोपोन्मुख कला संस्कृति, हस्तकला, कृषिजन्य वस्तु प्रदर्शनी र अहिलेसम्मकै उत्कृष्ट मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिए । गुरुङका अनुसार महोत्वसमा नेपाली परिकारका साथ २७ देशका खानाका परिकार पस्किने छ ।
मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती, साहसिक पर्यटन, खेलकुद सम्बन्धि वृत्तचित्र, स्वास्थ्यसम्बन्धि जानकारी तथा सुगर रोगको निःशुल्क परीक्षण, बाल उद्यान, आदिले महोत्सवलाई सुन्दर र  रोमाञ्चक बनाउने अध्यक्ष गुरुङले बताए । विगत १८ वर्षदेखि निरन्तर हुँदै आएको महोत्सव पोखराको ब्रान्ड बन्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको अध्यक्ष गुरुङले दाबी गरे । 
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले महोत्सवको सफलताको शुभकामना दिँदै संघका तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए । देशकै मुख्य पर्यटकीय स्थल तथा बुद्ध जन्मस्थल लुम्बिनी र पोखराको एकीकृत पर्यटन प्रवद्र्धनमा उनले जोड दिए । 
उद्योग वाणिज्य संघको ४ नम्बर प्रदेशका अध्यक्ष संजिव कोइराला, पोखरा पर्यटन परिषद्का केदारनाथ कोइराला, रेवानका निवर्तमान अध्यक्ष सुरेश भुजेल, सिद्धार्थ होटल एसोसियसनका उपाध्यक्ष किशोर जोसी लगायतले पोखरा, लुम्बिनी, चितवनजस्ता मुख्य पर्यटकीय क्षेत्रको एकीकृत पर्यटन प्रवद्र्धन गर्न सडक, यातायातजस्ता पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

 

प्रकाशित: ६ पुस २०७४ ०२:०६ बिहीबार

रुपन्देहीलाई पोखराको निम्तो