अर्थ

थप दुई न्यारो बडी जहाज खरिद गर्ने तयारी सुरु

काठमाडौं-  दुईथान ठूलो आकार (वाइड बडी) जहाज ल्याउन ८ अर्ब रुपैयाँ पठाइसकेको नेपाल वायुसेवा निगमले फेरि थप दुईथान नयाँ सानो आकार (न्यारो बडी) जहाज खरिद गर्ने तयारी सुरु गरेको छ।

हाल राष्ट्रिय ध्वजावाहक निगमले दुइवटै न्यारो बडी जहाजबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यी जहाज युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादन भएका हुन् । १ सय ५८ सिट क्षमतायुक्त जहाज ‘ए३२०–२००’ सिरिजका हुन्। यिनमा १ सय ५० इकोनोमी क्लास र ८ बिजनेस क्लास सिट छन् ।

‘उडान संख्या थपेर बजार हिस्सा वृद्धि गर्न फेरि दुईथान नयाँ न्यारो बडी जहाज खरिद गर्ने तयारी सुरु गरेका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘नयाँ गन्तव्यमा उडाउने योजना भने बनाएका छैनौं । भइरहेकै गन्तव्यमा यात्रु चाप बढेपछि उडान बढाउन जहाज थप्न लागेका हौं ।’

उनका अनुसार छिटोभन्दा छिटो ‘ग्लोबल टेन्डर’ आह्वान गरेर जहाज खरिदको प्रक्रिया अगाडि बढाइने छ । सकेसम्म ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज खरिद गर्ने योजना छ । नपाइए मात्र केही हजार घन्टा उडेको जहाज लिइने छ । जसले सस्तोमा बेच्ने प्रस्ताव पठाउँछ, सबै सर्त हेरेर उसैसँग जहाज खरिद गरिने छ ।

‘दुइटा वाइड बडी आपूर्ति हुनुभन्दा अगाडि दुईथान वाइड बडी ल्याउने तयारी भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘केही ढिला हुन गए वाइड बडीसँगै ल्याउने र पनि नसके त्यसलगत्तै ल्याउने योजना बनाएका छौं ।’

थप दुइटा न्यारो बडी खरिद गर्ने तयारी भए पनि व्यापारिक र वित्तीय योजना भने बनाउन बाँकी रहेको उनले जानकारी दिए । उनका अनुसार नयाँ दुइटा वाइड बडी ल्याएपछि भारतको नयाँदिल्ली र कतारको दोहा गन्तव्यलाई बढी प्राथमिकतामा राखिने छ । हाल दिल्लीका लागि दैनिक दुई उडान तथा दोहाका लाग सातामा चार उडान भइरहेका छन् । नयाँ जहाज थपिएपछि दिल्लीका लागि दैनिक तीन र दोहाका लागि दैनिक एक उडान गर्ने योजना छ ।

निगमले हाल दुईथान ए३२०–२०० र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त एकथान ‘बि७५७–२००’ जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा, हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई गरी आठ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

निगमले तीन जहाजबाट सातामा ३७ उडान गरिरहेको छ । दिल्लीका लागि दैनिक दुई उडान गरिरहेको छ । त्यसैगरी दोहा र दुबईका लागि सातामा चार÷चार उडान गरिरहेको छ भने बैंगलोर, मुम्बई, क्वालालम्पुर, हङकङ र बैंककका लागि प्रत्येक साता तीन÷तीन उडान गरिरहेको छ ।

निगमले एयरबससँग खरिद गरी २०७१ माघ २५ मा पहिलो ए३२०–२०० जहाज काठमाडौं ल्याएको थियो । यो जहाजले फागुन दोस्रो सातादेखि नियमित व्यापारिक उडान सञ्चालन गरेको थियो । त्यसपछि यही सिरिजको दोस्रो जहाज २०७२ वैशाख १८ मा ल्याएको थियो ।

अर्थ मन्त्रालयले २०७० जेठ २३ मा निगमलाई जहाज किन्न आवश्यक १० अर्ब रुपैयाँ ऋण दिन कर्मचारी सञ्चय कोषलाई स्वीकृति दिएको थियो । त्यसपछि निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो । त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो ।

सञ्चय कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो । त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिइरहेको छ । निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ । १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

दुई संस्थाबीच भएको सम्झौतामा कोषले दिने ऋण (सावाँ, ब्याज, ब्याजको ब्याज, हर्जाना ब्याज) लगायत सबै रकम चुक्ता नभएसम्म ऋण तथा जमानत ऐन २०२५ अनुरूप सरकारको जमानत कायम रहने उल्लेख छ । कोषसँग सम्झौता भएको नवौं दिन (२०७० असार १३) मा निगमले एयरबससँग जहाज खरिद सम्झौता गरेको थियो।

सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ । जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ । निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असार, असोज, पुस र चैत) भित्र भुक्तानी गर्नुपर्छ ।

सम्बद्ध स्रोतका अनुसार निगमले वर्तमान १० प्रतिशतको ब्याजदरमा अझै कटौती गरी ८ प्रतिशतमा झार्न सञ्चय कोषलाई आग्रह गरेको छ । तोकिएको मितिमै ठूलो परिमाणको किस्ता चुक्ता गर्दै आएको निगमको आग्रहप्रति सकारात्मक हुँदै कोषले ८ को सट्टा ९ प्रतिशत ब्याज दर कायम गर्नेबारे पुनर्विचार गरिरहेको कोष सम्बद्ध स्रोतले दाबी गरेको छ ।  

ऋण सम्झौताअनुसार कान्तिपथस्थित निगम केन्द्रीय कार्यालय भवन र त्यसले चर्चेको करिब १५ रोपनी जग्गालगायत कोषको सुरक्षणमा रहने, नयाँ आउने दुइटै जहाज कोषको नाममा धितो हुने, कर्जा सुरक्षणका लागि निगमले कोषलाई संस्थागत जमानत दिने, जहाजको समष्टिगत बिमालेख निगमले आफ्नै खर्चमा खरिद गर्नुपर्ने, उक्त बिमालेखको लाभग्राही कोष हुने तथा टिकट बिक्रीबाट प्राप्त हुने कुल आयको कम्तिमा ३० प्रतिशत ऋण नियमित गर्ने प्रयोजनका लागि कोषले तोकेको बैंकमा छुट्टै विशेष कोष खडा गरी महिनैपिच्छे रकम जम्मा गर्नुपर्छ।

 

 

प्रकाशित: ८ कार्तिक २०७४ ०५:५० बुधबार

दुई न्यारो बडी जहाज खरिद गर्ने तयारी सुरु