अर्थ

ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

पथरी (मोरङ)—सरकारले वर्षात्‌को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन। चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ। खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ।

मोरङको केराबारीस्थित खदम, हचुवा, मुगु खोलामा दिउँसोभन्दा बढी रातिमा उत्खनन हुने गर्छ। त्यही समयमा उक्त क्षेत्रमा प्रहरीले निगरानी पनि गरिरहेको छ। असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न पाइँदैन। तर तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ। जेसिभी २५ हजार, ट्रिफर २० हजार र ट्र्याक्टरलाई रु १० हजार जारिवाना तोके पनि अहिलेसम्म कति गाडीलाई जरिवाना गरेको हो भन्ने तथ्यांक कोहीसँग छैन।

जिल्ला समन्वय समिति मोरङले गरेको सार्वजनिक सूचनाअनुसार बाटो, पाटीपौवा मठमन्दिर, पैनीबाहेक खोलाबाट ढुंगा बालुवा निकासी पैठारी गर्न पाइँदैन। खोला क्षेत्रको संरक्षणका लागि विभिन्न पहल भइरहेको जिल्ला वन कार्यालका प्रमुख विनोद देवकोटाले बताए।

खोलामा भएको दुई नम्बरी धन्दा नरोकिएको देख्दा हैरानी हुन थालेको स्थानीयवासीको भनाइ रहेको छ। स्थानीय प्रशासनले चासो दिएमात्रै निकासी रोक्न सकिने केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीको भनाइ छ। केराबारीका खोलामा साँझ पर्नासाथ सयौँ गाडी खोलाभित्र हुने गर्छन्। रासस

प्रकाशित: १५ भाद्र २०७४ ०८:०१ बिहीबार

ढुंगा गिट्टी बालुवा उत्खनन निकासी रोकिएन