ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ। बैंकले पाँच वटा क्यास डिपोजिटर र पाँच वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो। बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ भने काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौं उपत्यकाबाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो।
बैंकको कमलादी शाखामा आयोजित कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको उद्घाटन गरे। उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपझोक्ताको आकांक्षा अनुरूप वित्तीयक्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए।
‘यो मेसिन कार्यदक्षता, सुविधा र सुरक्षाको मिश्रण हो। यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ। समयको बचत हुनेछ। २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफू अनुकूल लिन सकिनेछ,’ उनले भने।
यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकवर्गलाई सदैब नवीन प्रविधि प्रदान गर्न तत्पर रहेको जानकारी दिए। ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखारहित बैंकिङ सेवा,
६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी
१,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: १९ भाद्र २०८० ०३:०० मंगलबार