अर्थ

जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो

स्याउ टिप्दै गरेको। तस्बिर गोल्डेन बुढा जुम्ला।

जुम्लाको तातोपानी गाउँपालिका-२ डागीवाडा गाउँका रामबहादुर रावललाई यतिबेला आफ्नो बगैंचाको स्याउ टिप्न भ्याईनभ्याई छ। यस्तै चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका राममाया सिम्खाडा पनि स्याउ टिप्नमै व्यस्त छिन्। रावल र सिम्खडा मात्र होइन,अधिकांश किसानलाई स्याउ टिप्न चटारो छ।

यतिबेला जुम्लामा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैंचामै भेटिन्छन्। उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ। उनीहरू बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन्। जिल्लाको तातोपानी,तिला, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिका लगायत क्षेत्रमा स्याउ टिप्न सुरु भइरहेको छ। यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन्। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याईनभ्याई भएको हो। अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त रहन्छन्।

'हाम्रो आम्दानीको स्रोत नै यही हो', तातोपानी गाउँपालिका-२ डागिवाडा गाउँका रामबहादुर रावलले भने, ‘स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेका छौं। हामीले स्याउ टिपेर घरमै प्रतिकेजी ६० देखि ७५ रुपैयामा बिक्री गर्दै छौं।’

स्याउ गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज,बुटवलमा, लैजाने गरेका छन्। रामबहादुरका १ सय ५० विरुवा फल्छन्। अघिल्लो वर्ष १ लाख ८० हजार बराबरको स्याउ बेचेका रामबहादुरले याे वर्ष २ लाख ५० हजार रुपैयाँसम्ममा कमाउने अाशा गरेका छन्।  

यता चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँका राममाया सिम्खाडाले यो समय स्याउ टिप्न उपयुक्त नभएको बताउँछिन्। उनले भनिन्, ‘भदौ १५ देखि असोज अन्तिम सातामा स्याउ टिप्न उचित हुन्छ। धेरैले समयअघि नै स्याउ टिप्न थाले। अरूको लहैलहैमा लागेर आफू पनि स्याउ टिप्न बाध्य भइयो’।

धमाधम स्याउ टिपेर किसानले बगैंचा खाली गर्न थालेका छन्। जिल्लाका ८ वटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, रोयल डेलिसेस्, रेटडेलिसेस, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती भइरहेको छ।

बजारमा साउनमै काँचो स्याउ बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ संकलन र बिक्रीमा रोक लगाएका थिए। तैपनि किसानहरूले पछि व्यापारी भेटिन्न कि भन्ने डरले काँचै स्याउ टपेर बेच्न थालेका छन्।

तिला गाउँपालिका-२ लिही गाउँका कर्णसिंह रावतले व्यापारी आएका कारण पनि किसानले काँचै स्याउ बेच्न हतार गरिरहेको बताए। उनले भने, ‘प्रतिकिलो ६५ रुपैयाँको दरले ९० हजार रुपैयाँ बराबरको स्याउ बेचियो। पछि व्यापारी भेटिन्न कि भन्ने डरले  सताएको छ।’ किसानको धेरै उत्पादन भएकोले बजारीकरणको समस्याले कुहिने डरले हतारहतारमा बिक्री गर्नुपरेको उनले बताए। 

उनी जस्तै धेरै किसानलाई बजारीकरणको समस्या पनि उत्तिकै छ। स्याउ उत्पादन प्रशस्त भए पनि सडक सुविधा नुहुँदा स्याउ बिक्री गर्न किसानलाई समस्या भएको छ। जुम्लामा १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमै निर्भरको तथ्यांकले देखाउँछ। ४ हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुन्छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९र०८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ।

प्रकाशित: ५ भाद्र २०८० ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App