अर्थ

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

घले दम्पती।

काठमाडौं—अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्।

अघिल्लो वर्ष उनीहरुको सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष १० प्रतिशत वृद्धि भएको हो। अष्ट्रेलियामा धनाड्यको सूचि प्रकाशन गर्ने फाइनान्सियल रिभ्यु म्यागेजिनकाअनुसार घले दम्पतीसँग अहिले ६४ करोड ७० लाख डलर बराबरको सम्पती छ।

उनीहरुको स्वामित्वको एमआइटी ग्रुप होल्डिङ्सले सन् २०१५ मा मेलबर्नस्थित भिक्टोरिया मार्केट नजिकैका दुई टावर निर्माणका लागि स्वीकृति पाएको छ। ती टावरमा ४७० अपार्टमेन्ट तथा २१० कोठाको होटल निर्माण गर्न अष्ट्रेलियाली सरकारले स्वीकृति दिएको छ।

विश्वभरि छरिएका नेपालीहरुको छाता संस्था गैर आवासीय नेपाली संघका अध्यक्ष समेत रहेका शेष घलेको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), रियल स्टेट एवं होटल क्षेत्रमा छ। मेलबर्नस्थित एमआईटीमा विभिन्न मुलुकका करिब ४ हजार विदेशी विद्यार्थी अध्ययनरत छन्।

उनीहरुको स्वामित्वको एमआइटी ग्रुप होल्डिङ्सले सन् २०१५ मा मेलबर्नस्थित भिक्टोरिया मार्केट नजिकैका दुई टावर निर्माणका लागि स्वीकृति पाएको छ। ती टावरमा ४७० अपार्टमेन्ट तथा २१० कोठाको होटल निर्माण गर्न अष्ट्रेलियाली सरकारले स्वीकृति दिएको छ।

लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए। ३७ वर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अष्ट्रेलियामा धनाढ्यको सूचिमा परेसँगै सन् २००७ मा नेपालमा लगानी लिएर फर्किएको थियो। उनीहरुको लगानीमा काठमाडौंको ठमेलमा शेराटन होलट निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसमा करिब १२ अर्ब रुपैयाँ लगानी भएको छ। यो बाहेक उनीहरुले युरोपका देशहरुमा समेत होटलमा लगानी गरेका छन्।

'कडा मिहिनेत र भाग्यले धेरै कुरा निर्धारण गर्ने हो', जमुना भन्छिन्, 'हामी अष्ट्रेलियाको धनीको सूचिमा परे पनि नेपाल बिर्सन सक्दैनौं। यहाँ लगानी गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लाग्छ।'

दुई वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पछि घले दम्पति उद्धार तथा राहतमा सक्रिय भएका थिए। शेष घले अध्यक्ष रहेको गैरअावासीय नेपाली संघले भूकम्पको केन्द्रविन्दू नजिकै गोरखाको लाप्राकमा करिब ७ सय घरको नमुना बस्ती निर्माण गरिरहेको छ। घले दम्पतीले सन् २०१७ को धेरै समय ३००० मिटर उचाइको सोही स्थानमा टेन्टमा बिताइरहेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०६:४९ शुक्रबार

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा स्थान माथि उक्लिए