अर्थ

तार भूमिगत गरुन्जेल विद्युत् आपूर्तिमा समस्या आउन सक्छ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रबन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताएका हुन्।

खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए।

उनले भूमिगत गर्ने काम निकै अप्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने औँल्याए। तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अप्ठ्यारो व्यहोर्नुपर्ने उनको भनाइ छ।

प्रबन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत् प्रसारण लाइन बनाउन दिनु नहुने जिकिर गरे। त्यस्तै एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरूलाई ध्यानाकर्षण गराए।

उनले देशभरिको विद्युत्का पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए।

प्रकाशित: ७ असार २०८० ११:५५ बिहीबार

कुलमान घिसिङ