काठमाडौं- अधिवक्ता ओमप्रकाश विष्टले नेपाल उद्योग वाणिज्य महासंघसँग संस्थाको स्वर्ण महोत्वसका अवसरमा वितरित 'ट्रेन्ड सेटर' नामक सम्मानको आधार र कारण माग गरेका छन्।
विष्टले सूचनाको अधिकार अन्तर्गत उक्त विषयबारे जानकारी माग गर्दै महासंघको कार्यालयमा बुधबार निवेदन दर्ता गराएका हुन्। उक्त सम्मानमा कानुन, साहित्यजस्ता केही महŒवपूर्ण क्षेत्र छुटेको समेत उल्लेख गरिएको छ। त्यसैगरी कतिपय क्षेत्रका 'ट्रेन्ड सेटर' भनी दिइएको सम्मानको वस्तुनिष्ठ निर्णय नभएको प्रष्ट भइरहेका तथा कतिपय विषयमा मनोमानी निर्णय समेत भएको देखिएको निवेदनमा उल्लेख छ।
सम्मानित व्यक्तित्वहरू कुन आधार र कारणले छानिएका हुन् भन्ने विषयबारे नेपाली नागरिकले जानकारी राख्नुपर्ने अधिकारयुक्त विषय भएकाले निवेदन दिइएको अधिवक्ता विष्टले निवेदनमा जनाएका छन्। 'मलाई यसको कारण जान्न मन लागेको हुनाले मैले सूचना प्राप्तिको निवेदन दिएको हुँ,' विष्टले नागरिकसँग भने, 'समाज सेवा धेरै क्षेत्रका मान्छेले गरेका छन्, त्यसमा कवि र वकिल समेत छ, त्यसमा उनीहरू कसरी छुटे। कुनै पनि क्षेत्रमा मोलाहिजा भएकोजस्तो पनि देखिन्छ। त्यसै हुनाले त्यसको आधार र कारणका लागि निवेदन दिएको हुँ।'
महासंघले सोमबार एक भव्य समारोहबीच दुई दर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मानित गरेको थियो। 'लोकतन्त्रको एउटा सुनौलो पक्ष जुनसुकै निर्णय उचित तर्कका आधारमा हुनुपर्छ भन्ने अपेक्षा राख्नु समेत स्वाभाविक मानिन्छ,' निवेदनमा भनिएको छ।
संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ समेतको विषय स्मरण गराउँदै उक्त विषयका सन्दर्भमा विषयगत निर्णय कसरी गरियो? व्यक्तित्व छान्दाका सन्दर्भमा कुन प्रक्रिया अपनाइएको थियो तथा निर्णयको आधार के थियो भन्ने विषयमा समेत जानकारी गराई पाऊ भनि निवेदन दिइएको छ।
प्रकाशित: २ वैशाख २०७४ ०४:०५ शनिबार