अर्थ

कृषि उत्पादन २.७३ प्रतिशतले बढ्ने

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन २ दशमलव ७३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षण २०७९/०८० मा यस्तो प्रक्षेपण गरिएको हो। गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव २४ प्रतिशत थियो।

सर्भेक्षणमा चालु आर्थिक वर्षमा औद्योगिक बालीबाहेक सबै कृषि बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ। जसमा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३ दशमलव ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गत वर्ष खाद्यान्न बालीको उत्पादन ३ दशमलव ३ प्रतिशतले घटेको थियो।

उखु, जुट, चिया लगायतका औद्योगिक बालीको उत्पादन २ दशमलव ६५ प्रतिशतले घट्ने अनुमान गरेको छ। यो अवधिमा धानको उत्पादन भने ६ दशमलव ९० प्रतिशतले बढ्ने देखाएको छ।

यस्तै चालु वर्षमा महको ५.४ प्रतिशत, मसला बालीको ४.४२ प्रतिशत, तरकारी बालीको ४.३१ प्रतिशत र फलफूल बालीको २.१४ प्रतिशतले उत्पादन बढ्ने सर्भेक्षणमा उल्लेख छ। साथै, दलहन वालीको उत्पादन समेत ३.५८ प्रतिशतले वृद्धि हुने अनुमान छ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन २ दशमलव ७३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

यस्तै च्याउ उत्पादनतर्फ हाल ३५ जिल्लामा व्यावसायिक च्याउ खेती विस्तार भएर करिब ३१ हजार किसान च्याउखेतीमा आवद्ध भएको सर्भेक्षणमा जनाइएको छ।

उता कोभिड–१९ का कारण गत आर्थिक वर्ष ९.७१ प्रतिशतले कुखुराको उत्पादन घट्दा समग्रमा मासुजन्य उत्पादनमा १.५३ प्रतिशतले कमी आएको छ। यद्यपि राँगा, खसी, बोका तथा बंगुरको मासु उत्पादनमा भने सामान्य वृद्धि भएको उल्लेख छ।

बाख्राको संख्या गतवर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको सर्भेक्षणमा उल्लेख छ। यस्तै गतवर्ष दूध उत्पादनमा ३.५ प्रतिशत वृद्धि हुँदा दूधको उपलब्धता ८८ लिटर प्रति व्यक्ति प्रति वर्ष पुगेको छ।

यस्तै सर्भेक्षणमा चालु आर्थिक वर्षको कुल कृषि उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.९५ प्रतिशत, तरकारी १७.४१ प्रतिशत, नगदेबालीको १५.२३ प्रतिशत, औद्योगिक बाली १२.५ प्रतिशत, फलफूल बाली ५.८२ प्रतिशत, र अन्यको ४.१० प्रतिशत रहने अनुमान छ।

बाख्राको संख्या गतवर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको सर्भेक्षणमा उल्लेख छ। यस्तै गतवर्ष दूध उत्पादनमा ३.५ प्रतिशत वृद्धि हुँदा दूधको उपलब्धता ८८ लिटर प्रति व्यक्ति प्रति वर्ष पुगेको छ।

यस्तै कृषि बाली लगाइएको जमिनमा पनि खाद्यान्न बालीको हिस्सा उच्च छ। चालु आर्थिक वर्षमा कृषि बाली (मह बाहेक) लगाइएको कुल क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७१.४ प्रतिशत रहेको अनुमान गरिएको छ भने नगदेबाली ९.५ प्रतिशत, दलहन बाली ६.९ प्रतिशत र तरकारी बाली लगाइएको जमिनको क्षेत्रफल ६.१ प्रतिशत रहेको अनुमान गरिएको छ।

कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै

यस्तै आर्थिक सर्भेक्षणमा विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा घट्दै आएको कृषि क्षेत्रको योगदान यस वर्ष पनि क्रमशः घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै जाने क्रम निरन्तर रहने देखाएको छ। उद्योगक्षेत्रको भने स्थिर छ।

कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २४.१ प्रतिशत, उद्योगको १३.५ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत रहने अनुमान गरेको छ। यसअघि आर्थिक वर्ष २०७०÷०७१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत थियो।

उसो त पछिल्लो समय कृषि क्षेत्रमा आवद्ध जनसंख्या नै घट्दै गएको छ। सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षण अनुसार कृषि क्षेत्रमा आवद्ध जनसंख्या ६०.४ प्रतिशत रहेकोमा सन् २०२१ मा भएको श्रमशक्ति सर्वेक्षण अनुसार ५०.४ प्रतिशतमा झरेको छ।

यस्तै आर्थिक सर्भेक्षणमा विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा घट्दै आएको कृषि क्षेत्रको योगदान यस वर्ष पनि क्रमशः घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै जाने क्रम निरन्तर रहने देखाएको छ।

कृषि क्षेत्रमा आवद्ध जनसंख्या घट्दै जानु, कृषि पेशा भन्दा अन्य पेशातर्फ श्रमशक्ति आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च रहेको कारण विशेषगरी हिमाली र पहाडी क्षेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ। त्यसैकारण कृषि उत्पादनमा अपेक्षित वृद्धि हुन नसकी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको आर्थिक सर्भेक्षणमा उल्लेख छ।

निकासी/पैठारी घट्यो

अर्थ मन्त्रालयको सर्भेक्षण अनुसार चालु आवको फागुनसम्म गत आवको सोही अवधिको तुलनामा कृषिजन्य वस्तुको निकासी ५१ प्रतिशत र पैठारी २६.५ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु निकासीमध्ये कृषिजन्य वस्तुको निकासी करिब ५० प्रतिशत रहेको छ भने कुल पैठारीमध्ये कृषिजन्य वस्तुको पैठारी २० प्रतिशत रहेको छ।

यस अवधिमा फलफूल तथा नट्स, चिया, पिठो लगायतका वस्तुको निकासी बढेको छ। त्यस्तै पशुपन्छीको आहारा, बोसो तथा तेल, जुट लगायतका वस्तुको निकासी घटेको छ।

त्यसैगरी, दुग्ध पदार्थ, कफी, पिठो लगायतका वस्तुको पैठारी बढेको छ। तरकारी तथा दलहन, फलफूल तथा नट्स, धान/चामल, मकै तथा गहुँको पैठारी घटेको छ। चालु आव अन्तर्गत फागुनसम्म कुल वस्तु व्यापारघाटा १७.९ प्रतिशतले घटेको छ।

अर्थ मन्त्रालयको सर्भेक्षण अनुसार चालु आवको फागुनसम्म गत आवको सोही अवधिको तुलनामा कृषिजन्य वस्तुको निकासी ५१ प्रतिशत र पैठारी २६.५ प्रतिशतले घटेको छ।

चालु आवकै फागुनसम्म संघ सरकारअन्तर्गत रहेका ११ कृषि उपज थोकबजार स्थलबाट देशभित्रै उत्पादन भएका र पैठारीसमेत गरी ३० अर्ब ६६ करोड ६४ लाख बराबरको कृषि उपजको थोक कारोबार भएको सर्भेक्षणमा उल्लेख छ।

गत आवको फागुनसम्म यस्तो कारोबार १७ अर्ब ३२ करोड ४८ लाख रहेको थियो। कृषिजन्य वस्तुको पैठारी उच्च रहनुले मुलुक आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुन समेत निकै मेहनत गर्नुपर्ने देखिएको आर्थिक सर्भेक्षणमा उल्लेख छ।

यसैले कम्तिमा पनि आधारभूत खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी कृषि, सिँचाइ, वाणिज्यलगायतका क्षेत्रगत नीतिको समयानुकूल परिमार्जन गरी सोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिएको उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८० ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App