अर्थ

छैठौं राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु

काठमाडौं- उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुपर्ने बताएका छन्। उनले नेपाली छाला जुत्ता उद्योगलाई पनि अन्तर्राष्ट्रिस्तरसम्म प्रवर्द्धन गर्नका लागि उद्योग मन्त्रालयले गर्नुपर्ने कानुनी तथा कागजी प्रक्रिया छिटो ढंगले टुंग्याउने समेत बताए।

नेपाल छाला जुत्ता उत्पादक संघको छैठौं बृहत राष्ट्रिय छला जुत्ता तथा वस्तु प्रदर्शनी मेलाको बुधबार उद्घाटन गर्दै उद्योग राज्यमन्त्री बादेले नेपालको जुत्ता उच्च गुणस्तरको हुनु पर्नेमा समेत जोड दिए।

साना घरेलुदेखि मझौला हुँदै ठूला उद्योग सञ्चालन तथा व्यवसायका लागि ऐन जारी भइसकेको बताउँदै उद्योग राज्यमन्त्री बादेले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया छिटो ढंगले गर्ने बताए। व्यवसायीका तर्फबाट कुनै समस्या भए संस्थागत रुपमा मन्त्रालयमा आउन समेत मन्त्रीले अपिल गरे।  

'कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो' भन्ने मुल नाराका साथ बुधबारदेखि नौ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छाला जुत्ता प्रदर्शनी मेलामा उद्योग सचिव शंकर कोइरालाले छाला जुत्ताको क्वान्टिटीभन्दा क्वालिटीमा जोड नदिएसम्म गुणस्तरिय जुत्ता लगाउन नस्कने टिप्पणी गरे। उनले आयतित जुत्ताभन्दा स्वदेशी वस्तुबाट निर्मित गुणस्तरिय जुत्ता आवश्यक भएको बताए।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशमा उत्पादन गरिएको जुत्ता विभिन्न वर्गका लागि उपलब्ध भएका कारण आर्थिक क्षमता अनुसार खरिद गर्न सकिने भन्दै अधिकांश छाला जुत्ता गुणस्तरीय भएको दाबी गरे। सरकारले छाला जुत्ता कम्पनीको माग र मेटिरियर वस्तुमा भन्सार छुट दिए अझै आकर्षक र गुणस्तरीय हुने बताए। उनले भने, ‘प्रत्येक सरकारी कर्मचारीलाई अनिवार्य रुपमा स्वदेशी छाला जुत्ता प्रयोग गरौं, यसै हुन्छ स्वदेशी ब्रान्डको प्रवर्द्धन।’ नेपाली छाला जुत्ता कम्पनीलाई आत्मनिर्भर बनाउन सरकारी तबरबाटै प्रोत्साहन गर्नुपर्ने महासंघ अध्यक्ष गिरीको भनाइ थियो। 

नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष जीवन नेपालीले नेपालमा उत्पादित छाला जुत्ता कम्पनीअनुसार फरक–फरक क्वालिटीका भएको जानकारी दिँदै नेपाली जुत्ताको अन्तर्राष्ट्रिय ब्रान्डङ गर्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे। अध्यक्ष नेपालीले भने, ‘उद्योगको पनि आफ्नै समस्या भएकाले यसलाई व्यवस्थित र वैज्ञानिक ढंगले नेपाली छाला जुत्ता प्रवर्द्धन गर्दैछौं।’ उनले जुत्ता उद्योग पनि रोजगारको मुख्य स्रोत भएकाले राज्यका तर्फबाट आवश्यक सहयोग गर्न पछि हटन् नहुनेमा जोड दिए।

नौ दिनसम्म हुने प्रदर्शनीमा उद्योगीले गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरेका महिला, पुरुष र बच्चाका जुत्ता चप्पल, अल्लो तथा हेम्पद्वारा निर्मित वस्तुको प्रदर्शनी राखेको आयोजकले जनाएको छ। 

करिब ६० स्टल रहने मेलामा पाँच सय रुपैयाँदेखि माथिको जुत्ता चप्पल रहने आयोजकको भनाइ छ। जुत्तामा ६ महिनासम्म वारेन्टीको साथै १५ देखि २५ प्रतिशतसम्मको छुट रहेको संघले जनाएको छ।

संघका अनुसार मेलामा घरेलु तथा सना उद्योग विकास समिति, घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्स सह–आयोजकका रुपमा रहेका छन्।

मेलाको प्रवर्द्धकका रुपमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, गोल्डेन प्रायोजकमा म्याजिक चप्पल, प्रायोजकमा सिटिजन फुटवेयर, पारागन फुटवेयर र सेक्सेस सुज रहेका छन्। यस्तै सह–प्रायोजकमा सगुन सुज, प्रिज्म फुटवेयर र ग्लोबल सुज रहेका छन्। मेलामा करिब ८० हजारले अवलोकन गर्ने नेपाल छाला जुत्ता उत्पादक संघले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:२५ बिहीबार

छैठौं राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु