काठमाडौं- उत्कृष्ट 'महिला उद्यमी अवार्ड' पाउनु हरेक महिला उद्यमीको सपना हो। देशभरिका उद्यमी महिलाबाट चुनिएर 'महिला उद्यमी अवार्ड' पाउनु महिला उद्यमशीलतालाई थप प्रोत्साहन र ऊर्जा त हो नै, उनको लागि आफ्नो कला, सीप, क्षमता प्रवर्द्धन गर्ने अवसर पनि हो। जस्ले गर्दा उनीहरुमा आत्मविश्वास बढ्छ र समाजमा थप पहिचान स्थापित गर्न उनीहरु उत्साहित हुन्छन्।
यस वर्षको उत्कृष्ट 'महिला उद्यमी अवार्ड २०७३' बाट सम्मानित बिनाकुमारी शर्माको कथा अन्य महिला उद्यमीको लागि पनि उदाहरण हुन सक्छ। एक सामान्य घुम्ती चिया पसलबाट उद्यम सुरु गरेकी बाँके नेपालगन्जकी शर्माले अहिले करिब सात करोड रुपैयाँको साथी कृष्ण कटेज सञ्चालन गरिरहेकी छिन्। उनको अथक संघर्षको परिणामस्वरुप उनले महिला उद्यमी अवार्ड २०७३ पाएकी हुन्। फर्केर हेर्दा यस सफलताको पछाडि फिल्मी कथा झैं लाग्ने उनको विगत छ।
बर्दिया सौरहवाका उनका पति २०४५ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। जीवन ठिकठाक चल्दै थियो। उनका पति २०५१ सालमा मानसिक अस्वस्थताको कारण अचानक हराए। आफ्नो जीवनको सहारा नै नरहेपछि बिनाको लागि जीविकोपार्जनका लागि आफैं संघर्ष गर्नुको विकल्प रहेन। घरबाट उनी दुई छोरा लिएर नेपालगन्ज आइन्। सुरुसुरुमा नेपालगन्जमा उनले विद्यालयमा सरसफाइ गर्ने, होटलमा भाँडा मा‰ने, कपडा धुने जस्ता काम गरेर गुजारी चलाउन थालिन्। विधिको बिडम्बना, त्यही वर्ष उनको कान्छो छोरो बिरामी भयो। उपचार गर्ने खर्च पनि नभएर उनले छोरा गुमाउनु पर्यो। उनको जीवनमा नियतिको यो दोस्रो बज्रपात थियो। तर, उनले हरेश खाइनन्, आफ्नो कर्ममा अविचलित लागिरहिन्।
'परिवारमा कोहीबाट सहयोग नभएपछि बेसहारा भएर नेपालगन्ज आएँ,' उनले अँध्यारो विगत खोलिन्, 'यही क्रममा साथी संस्थाले दिएको दुई हजार रुपैयाँ सहयोगले घुम्ती चिया पसल सुरु गरें।'
उनी आफूलाई त्यतिखेर सहयोग गर्ने भवानी राणाप्रति कृतज्ञ छिन्, आज। 'त्यही सहयोगले केही गर्छु भन्ने आत्मविश्वासका साथ साथी चिया पसल सुरु गरें,' उनले नागरिकसँग भनिन्, 'पहिला–पहिला गारो भए पनि विस्तारै चियाबाट राम्रै आम्दानी पनि हुन थाल्यो।'
साथी संस्थाले महिला उद्यमीसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम, छलफल, अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने मौका दिएपछि आफूमा तर्क गर्न सक्ने क्षमता विकास भएको उनी बताउँछिन्। आत्मविश्वास बढ्दै गएपपछि महिला उद्यमी जिल्ला संघ र सहकारीबाट ऋण लिएर उनले चिया पसललाई विस्तारै होटलको रुपमा विकास गरिन्।
होटलमा सरकारी कर्मचारी, आइएनजिओ र एनजिओका कर्मचारी गरेर एक सय सातजनालाई मासिक खाना खुवाएको अनुभव सुनाउँदा उनको आँखामा सफलताको चमक थियो। एकैछिन आफ्नो संघर्ष बिर्सेझैं उनको मुहारमा हल्का खुसी चल्मलायो। उनी भन्दै गइन्, 'मलाई विश्वास गर्ने एउटै संस्था महिला उद्यमी संघ थियो। मलाई जुनसुकै समयमा पनि आर्थिक सहयोग गरेका कारण आज मेरो उद्यमले प्रगति गरेको हो।'
फेरि उनी आफ्नो विगतको तिर फर्किइन्। निकै गम्भीर भएर भनिन्, 'आफू २५ वर्ष हुँदा पति गुमाउनुको पीडा छँदै थियो यसमाथि छोरोलाई उपचार गर्न नसकेर गुमाउनु पर्यो। आज म आफ्नै संघर्षका कारण देशभरिबाट उत्कृष्ट महिला उद्यमी बन्न सकेको छु।'
बोल्दा बोल्दै उनी टक्क रोकिइन्। सँगै रहेका छोरा कृष्णप्रसाद शर्माले आमाको कुराको शंृखला जारी राखे, 'हामी सडकबाट आएको मान्छे अहिले उद्यमीको रुपमा चिनिन पाएका छौं।' उनले यसको श्रेय महिला उद्यमी संघलाई दिए।
'आमामा त्यो आत्मविश्वास नभएको भए आज हामी ७–८ करोडको मालिक हुन थिएनौं,' उनले भने।
तर जीवन मानिसले सोचे झैं सहज हुँदो रहेनछ। २०६१ सालमा उनको होटलमा आगलागी भयो। फेरि एकपटक बिनाको जीवनमा दुखद् घुम्ती आयो। 'हामीले एकपटक फेरि सबै गुमायौं तर हरेस नखाईकन् आमालाई साथ दिएर आज साथी कृष्ण कटेज चलाइरहेका छौं,' कृष्णले थपे।
आफूले म्यानेजमेन्ट पढेका कारण यही व्यवसायलाई थप विस्तार गर्ने योजनामा रहेका कृष्णप्रसादलाई महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष भवानी राणाले नै कक्षा ७ देखि १२ सम्म बोर्डिङमा छात्रवृत्ति दिएर पढ्न सहयोग गरिन्।
आफ्नो व्यवसायमा छोराको साथ पाएको कारण बिना पनि अब छिट्टै २ हजारजना अट्ने बैंक्वेट ग्राउन्ड र दुई सय जना अटाउने वातानुकूलित हल निर्माणको तयारीमा छिन्।
प्रकाशित: ९ फाल्गुन २०७३ ०४:५३ सोमबार